ढुवानी भाडा नबढेपछि २ दिनदेखि इन्धन लिन व्यवसायीले ट्याङ्कर भारत पठाउनै छाडे « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ढुवानी भाडा नबढेपछि २ दिनदेखि इन्धन लिन व्यवसायीले ट्याङ्कर भारत पठाउनै छाडे


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । ढुवानी भाडा बढाउन माग गरेका ट्याङ्कर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्याङ्कर भारत पठाउनै छाडे

अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था विपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । आर्थिक सङ्कटमा रहेको नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने उनीहरूको माग छ । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भाडा वृद्धि नभए २४ भदौबाट तेल आयात गर्न ट्याङ्कर भारत नपठाउने चेतावनी दिएको थियो । सोहीअनुसार उनीहरूले निगमका अधिकांश डिपोसँग करारमा रहेका ट्याङ्करलाई शुक्रबार तेल लिन भारत पठाएनन् ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले इन्धनलाई पनि अत्यावश्यक वस्तुमा सूचीकृत गरेको छ । जसअनुसार पेट्रोलियम पदार्थ ९एलपी ग्याससमेत०को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा हडताल गर्न निषेध गरिएको छ । हडताल गरेमा ६ महिनासम्म कैदको व्यवस्था छ । घाटामा गइरहेको निगमको जर्जर आर्थिक अवस्थाका कारण भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा उपभोक्ता मूल्य निगमले घटाएको छैन । तर, इन्धन व्यवसायीहरूले भने ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको चेतावनी दिइरहेका छन् ।

सबैभन्दा धेरै इन्धन खपत हुने काठमाडौँस्थित आयल निगमको थानकोट डिपोबाट शुक्रबार भारतका लागि कुनै पनि ट्याङ्कर तेल लिन गएका छैनन् । त्यस्तै, दोस्रो ठुलो अमलेखगन्ज डिपोबाट दैनिक २० ट्याङ्करसम्म पेट्रोल लिन भारतको बरौनी रिफाइनरी जाने गरेकोमा शुक्रबार १७ ट्याङ्करले मात्रै खरिद आदेश लिएका छन् । तर, ती ट्याङ्कर भारत गए–नगएकोबारे निगमलाई व्यवसायीले खबर गरेका छैनन् । प्रदेश नम्बर १ मा इन्धन आपूर्ति गर्दै आएको निगमको विराटनगर डिपोबाट दैनिक १६–१७ ट्याङ्कर पेट्रोल लिन जान्छन् ।

तर, शुक्रबार एउटा पनि ट्याङ्कर भारत गएनन् । अन्य डिपोहरूबाट पनि भारत जाने ट्याङ्करको संख्या न्यून रहेको आयल निगमले जनाएको छ । व्यवसायीहरूले आइतबारबाट सबै नाकाबाट भारत जाने ट्याङ्करलाई रोक्ने र १ असोजबाट आन्तरिक ढुवानी ९निगमको एउटा डिपोबाट अर्को डिपोसम्म र डिपोदेखि पम्पसम्म तेल ओसारपसार० रोक्ने चेतावनी दिएका छन् । एक वर्षदेखिको माग सुनुवाइ नभएका कारण ढुवानी भाडा दर वृद्धि नभएसम्म इन्धन आपूर्ति रोक्ने निर्णय भएको महासङ्घका महासचिव विश्व अर्यालले बताए । ‘हामीले शुक्रबारदेखि सबै ट्याङ्कर निगमको जिम्मा दिएका छौँ,’ उनले भने, ‘अब उनीहरूले नै खर्च गरेर इन्धन ओसारून् । अनि कति खर्च लाग्दो रहेछ भन्ने थाहा हुन्छ ।’

महासचिव अर्यालले पटक–पटक जारी गरेको हडतालको कार्यक्रम रोकेर आयल निगमको भनाइ माने पनि अब भाडा दर वृद्धि नभएसम्म कसैको कुरा सुन्न नसक्ने बताए । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि व्यवसायीको हडतालका कारण इन्धन आपूर्ति र वितरण प्रभावित भएको बताए ।

नेपाल आयल निगम लिमिटेड सञ्चालक समिति बैठकले इन्धन ढुवानी गर्ने ट्याङ्करको भाडा दर वृद्धि गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । वार्षिक करिब पाँच अर्ब ढुवानी भाडाबापत खर्च भइरहेकोमा ४४ करोड व्ययभार थपिने गरी ढुवानी भाडा दर वृद्धि गर्न सञ्चालक समितिले एक वर्षदेखि प्रयास गरिरहेको थियो । सञ्चालक समितिमा रहेका केही सदस्यहरूले नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको निगमलाई पुनः आर्थिक बोझ थप्न नहुने भन्दै ढुवानी भाडा दर वृद्धि गर्न असहमति राख्दै आएका थिए ।

ढुवानी भाडा दर वृद्धिका लागि आयल निगमले एक अध्ययन टोली बनाई प्रतिवेदनसमेत लिएको थियो । सो अध्ययन प्रतिवेदनले ढुवानी भाडा दर १८ प्रतिशतसम्म वृद्धि गर्न सकिने सिफारिस गरेको थियो । जस कारण अहिले हडतालमै उत्रिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भएअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नपाउँदा अहिले निगम १० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको छ । व्यवसायीलाई हडताल राकेर समस्याको समाधान खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरे पनि व्यवसायीले सुनेका छैनन् । शुक्रबार एक कार्यक्रममा मन्त्री बडूले व्यवसायीले हडताल गर्नै नपर्ने गरी समस्याको समाधान हुन लागेको बताएका थिए ।

ढुवानी भाडा दर वृद्धिको प्रस्ताव
आयल निगमको अध्ययन प्रतिवेदनले चालक र सहचालकको तलब तथा भत्ता, ट्याङ्करको बिमा प्रिमियम, मर्मत खर्च, विशेष मर्मत खर्च, मोबिल, टायरलगायतको खर्च शीर्षकको लागत बढेको भन्दै ढुवानी भाडा दर वृद्धिका लागि सिफारिस गरेको छ । सो प्रतिवेदनले आइओसीको डिपोदेखि निगमको डिपोसम्म र देशभित्रै निगमको एउटा डिपोदेखि अर्को डिपोसम्मको दूरी हिसाब गरी ढुवानी भाडाको आधार दर वृद्धिका लागि सिफारिस गरेको थियो । यस्तो आधारदरमा डिजेलको भाउ बढ्दैपिच्छे ढुवानी भाडा बढाइने गरिन्छ ।

प्रतिवेदनअनुसार आइओसीको सिलिगुडी डिपोदेखि निगमको चारआली ९झापा० डिपोसम्म प्रतिकिलोमिटर एक हजार तीन सय तीन रुपैयाँ, गोन्डा–नेपालगन्ज दुई हजार तीन सय ३० रुपैयाँ, बेतालपुर–भैरहवा दुई हजार दुई सय ८७ रुपैयाँ, बन्थरा–धनगढी दुई हजार तीन सय १ रुपैयाँ, लखनउ–नेपालगन्ज दुई हजार सात सय ५५ रुपैयाँ र बरौनी–जनकपुर दुई हजार नौ सय १४ रुपैयाँ ढुवानी भाडाको आधार दर वृद्धि गर्न सिफारिस गरिएको छ । त्यस्तै, बरौनीदेखि जनकपुर दुई हजार नौ सय १४ रुपैयाँ, अमलेखगन्जसम्म तीन हजार तीन सय ८३ रुपैयाँ, विराटनगरसम्म तीन हजार चार सय ५१ रुपैयाँ, पोखरासम्म पाँच हजार चार सय ५४ रुपैयाँ र थानकोटसम्म पाँच हजार नौ सय ६७ रुपैयाँ प्रतिकिलोमिटर ढुवानी भाडाको आधार दर वृद्धिका लागि सिफारिस गरिएको छ ।

तीन व्यस्त विमानस्थलमा सातादेखि हवाई इन्धन आपूर्ति ठप्प
भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा १६ भदौदेखि ट्याङ्कर ढुवानी व्यवसायीले हवाई इन्धन आपूर्ति रोकेका छन् । जस कारण नेपालगन्ज र धनगढी विमानस्थलमा उडान गर्ने विमानलाई निगमको स्थानीय डिपोले तेल दिन छाडेको छ । भैरहवास्थित निगमको हवाई इन्धन डिपोले भने मौज्दातमा रहेको तेल

उपलब्ध गराइरहेको छ । यसले बढीमा एक साता मात्रै धान्न सक्नेछ ।
तीन वटै विमानस्थलका लागि आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)को लखनउ टर्मिनलबाट हवाई इन्धन ल्याउने व्यवस्था मिलाइएको थियो । त्यसपछि छोटो दूरीबाट तेल ओसार्दा ढुवानी भाडा कम भई मर्कामा परेको भन्दै व्यवसायीले ढुवानी भाडा दर वृद्धिका लागि दबाब दिन १६ भदौदेखि आपूर्ति रोकेका हुन् ।

धनगढीस्थित निगमको हवाई इन्धन डिपो प्रमुख गणेश जोशीका अनुसार त्यहाँ दैनिक नियमित रूपमा आठ वटा उडान हुने र १० हजार लिटर हवाई इन्धनको खपत थियो । अहिले यो परिमाणको तेल काठमाडौँबाटै बोकेर विमान कम्पनीहरूले सेवा दिइरहेका छन् । नेपालगन्जस्थित निगमको हवाई इन्धन डिपो प्रमुख शिव आचार्यका अनुसार तेल अभावमा डिपोले १९ भदौबाट विमान कम्पनीहरूलाई हवाई इन्धन दिन छाडेको छ ।

अहिले नेपालगन्जबाट पहाडी जिल्लाहरू बाजुरा, हुम्ला, जुम्ला, मुगु, रुकुमलगायतमा हुने उडानका लागि मात्रै हवाई इन्धन दिने गरेको आचार्यले बताए । भैरहवास्थित निगमको हवाई इन्धन डिपो प्रमुख सबिन सापकोटाका अनुसार अहिले मौज्दातमा एक लाख ६० हजार लिटर तेल छ । ‘यहाँ सातामा तीन वटा अन्तर्राष्ट्रिय उडान र दैनिक १२ देखि १४ वटा आन्तरिक उडान हुने गरेको छ । यी विमानलाई मौज्दात परिमाणबाट एक सातासम्म तेल दिन सकिन्छ,’ सापकोटाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस