राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो


२९ जेष्ठ २०८०, सोमबार


दोधारा चाँदनी । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ ।

यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यस वर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ ।

महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । आयोजनाका सिनियर डिभिजनले इञ्जिनियर शम्भु पण्डितले माग अनुसार बजेट नआएको बताए । ‘आगामी आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड बजेट छुट्याइएको थियो ।’

आयोजनाका लागि आव २०८०/८१ का लागि दुई अर्ब बजेट माग गरिएकामा एक अर्ब १७ करोड विनियोजन भएको इञ्जिनियर पण्डितले जानकारी दिए । माग भन्दा निकै कम बजेट आएपछि आयोजना निमार्णको काम प्रभावित हुने उनको भनाइ थियो ।

आयोजनाअन्तर्गत आगामी आवमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने योजना छ भने निर्माण सम्पन्न भएको मूल नहरको २८ किलोमिटरमा २२ शाखा निर्माण गरी किसानलाई सिँचाइका लागि पानी पुर्‍याउने लक्ष्य रहेको इञ्जिनियर पण्डितले बताए ।

आर्थिक वर्ष २०६३/६४ देखि आयोजनाको काम सुरु भएको थियो । ‘केही वर्ष मुआब्जा विवादका कारण काम सुरु हुन सकेन् । काम सुरु भएपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतिमा काम भएको छ’, उनले भने, ‘पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखिए पनि आवश्यकताअनुसार बजेट आउन नसकेपछि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।’
त्यस्तै, सुदूरपश्चिमको महत्त्वपूर्ण योजना मानिएको महाकाली करिडोरमा पनि आवश्यकता अनुसार बजेट आएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म जोड्ने निर्माणाधीन उक्त सडकले पनि न्यून बजेटका कारण गति लिन सकेको छैन ।

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले यस वर्ष करिडोरका लागि माग गरेको भन्दा आधा मात्रै बजेट आएका बताए । ‘८० करोड माग गरिएकामा ४५ करोड मात्रै विनियोजन गरिएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षका लागि महाकाली कोरिडोरले ५१ करोड बजेट पाएको थियो आगामी वर्षका लागि झन् घटेर आएको छ ।’

आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिङ्करसम्म चार सय २५ किलोमिटरमध्ये दार्चुलाको तुषार पानीसम्म तीन सय ३४ किलोमिटर आयोजनाले र तुषार पानीदेखि टिङ्गरसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

सेनाले निर्माण गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड विनियोजन भएको प्रमुख जोशीले जानकारी दिए । आयोजना कार्यालयका अनुसार तीन सय ३४ किमीमध्ये अझै एक सय नौ किमी ट्र्याक खोल्न बाँकी छ ।


कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्नु दुःखद भएको बताए । ‘पाँच वर्षमा सम्पन्न हुने आयोजना पन्ध्र वर्ष पुग्दा पनि सम्पन्न हुन सकेका छैनन्’, उनले भने, ‘सरकारले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राखेर आवश्यकता अनुसार बजेट विनियोजन गर्नु पर्दछ ।’ न्यून बजेटका कारण आयोजनाको काम हालसम्म पनि सम्पन्न हुन नसकेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस