वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री ‘प्रचण्ड’


१५ असार २०८१, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए। 

“विगतमा नेपाल दुई ठुला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दिगो हुन सकेन”, प्रधानमन्त्री दाहालले भने, “विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।”

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए । 

“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ”, प्रधानमन्त्री दाहालले भने, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धी प्राप्त गरेका छौँ ।” 

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकाङ्क्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

“म यही मञ्चमार्फत सबै कम्युनिस्ट घटक र नेताहरूमा अपिल गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ”, प्रधानमन्त्री दाहालले भने, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।”

निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्रीले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस