शिक्षा र स्वास्थ्यसँगै तिलोत्तमाको अबको प्राथमिकता ‘भिजिट लुम्बिनी र स्टे तिलोत्तमा’ « प्रशासन
Logo १८ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षा र स्वास्थ्यसँगै तिलोत्तमाको अबको प्राथमिकता ‘भिजिट लुम्बिनी र स्टे तिलोत्तमा’


१६ असार २०८१, आइतबार


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विपद् व्यवस्थापन, सूचना प्रविधि, शिक्षा र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । 

नगरपालिकालाई आपत्कालीन परिस्थितिमा चाहिने सम्पूर्ण समाग्रीहरुको पालिकाले व्यवस्थापन गरिसकेको छ । यसैगरी नगरपालिकाका सम्पूर्ण शाखाहरूको काम सफ्टवेयरबाट गर्ने गरिएको छ भने कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था पनि गरिएको छ ।

विपद् व्यवस्थापन टास्कफोर्स
पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएका असरका कारण प्राकृतिक प्रकोप झन् जटिल बन्दै गएको छ । जलवायु परिवर्तनको उच्च जोखिममा नेपालका हरेक गाउँ, बस्ती र टोल छन् ।

एक अध्ययन अनुसार नेपालमा विपद्जन्य घटनामा प्रति १० लाख व्यक्तिमा ५० जनाको मृत्यु हुने गरेको छ । यस कारण पनि प्राकृतिक प्रकोपबाट जोगिन पूर्व तयारी गर्नु अत्यन्तै जरुरी भइसकेको छ । 

यही आवश्यकतालाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिले विपद्बाट बच्न पूर्व तयारीलाई उच्च प्राथमिकता दिएको छ । नगरपालिकाले आपत्कालीन परिस्थितिमा चाहिने सम्पूर्ण समाग्रीहरुको व्यवस्थापन गरिसकेको छ ।

‘विपद् व्यवस्थापन गर्न तिलोत्तमा नगरपालिका सक्षम छ,’ प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने, ‘प्रत्येक वडाबाट विपद् व्यवस्थापनका लागि पाँच जनाको समूहमा विपद् व्यवस्थापन टास्कफोर्सको रूपमा ८५ जनाको समूह निर्माण गरेर तालिम प्रदान गरिएको छ ।’

नेपालमा विपद्का घटनामा मृत्युको मूल कारण संरचना नै रहेको छ । ‘संरचनामा थिचिएका र च्यापिएकाहरूले आपत्कालीन उद्धार नपाएर मर्ने गरेका छन्,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘विपद् व्यवस्थापनका लागि नगरपालिकाले गरेको कार्य प्रशंसनीय छ ।’

तिलोत्तमा नगर प्रहरी एन.पी. श्रेष्ठका अनुसार विपद् व्यवस्थापनका लागि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरिएको छ । नगरपालिकाभित्र शान्ति सुरक्षा र अमनचयन कायम गर्न नगर प्रहरीको व्यवस्था गरिएको हो । नगर प्रहरी दिनरात सुरक्षामा खटिएको श्रेष्ठले बताए ।

प्राथमिकतामा शिक्षा र स्वास्थ्य
शिक्षा मानव विकासको पहिलो सर्त हो । तिलोत्तमा नगरमा नेपालकै नमुना शैक्षिक धरोहरहरू रहेका छन् । 

शैक्षिक क्षेत्रको वृत्ति विकासका लागि नगरपालिकाले पूर्वाधार विकासदेखि विद्यार्थीको पठन पाठन र भोजनमा समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । शान्ति नमुना माध्यमिक विद्यालयका उपप्राचार्य किशोर कुमार खानलका अनुसार शान्ति नमुना माध्यमिक विद्यालयमा साधारण तथा प्राविधिक धारको पढाइ हुने गरेको छ । अटिजम भएका विद्यार्थीहरू पनि यहाँ पढ्ने गर्छन् । यसै गरी अपाङ्गता भएका विद्यार्थीहरूका लागि आवासीय अध्ययनको व्यवस्था मिलाइएको छ ।

दलित, जनजाति, आदिवासी विद्यार्थीहरूलाई सहयोग गर्ने गरिएको छ । ‘विद्यार्थीहरूले भोको पेटमा पढ्न नसक्ने भएकाले दिवा खाजाको व्यवस्था गरिएको हो’, नगरप्रमुख रामकृष्ण खाँणले भने, ‘शपथको दिन नै गरेको प्रतिबद्धता अनुसार कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरिएको हो ।’

नेपाल सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिका लागि १५ रुपैयाँ छुट्टाएकोमा नगरपालिकाले १० रुपैयाँ थप गरेर २५ रुपैयाँ पुर्‍याएको छ भने कक्षा ६ का विद्यार्थीहरूलाई पनि २५ रुपैयाँ उपलब्ध गराएर दिवा खाजाको व्यवस्था गरेको छ ।

शिक्षाको लगानी खेरा जाँदैन भन्ने हेतुले नै नगरपालिकाले प्रत्येक वर्ष शिक्षामा लगानी गरिरहेको हो । जसअनुसार ४ वटा सामुदायिक विद्यालयमा सुविधा सम्पन्न भवन बनाउने नीति नगरपालिकाको छ । यो नगरपालिकाको स्वर्णिम आयोजनाको रूपमा रहेको छ । यो आर्थिक वर्षमा ४ वटा विद्यालयको भवन बनाइएको छ ।

यसैगरी आम नगरवासीसम्म सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन नगरपालिकाले सुविधासम्मन्न अस्पतालहरूको निर्माण सँगसँगै ज्येष्ठ नागरिकहरूलाई घरदैलोबाटै स्वास्थ्य सेवा प्रवाह जस्ता कार्यहरू गर्दै आएको छ । ‘सबै ज्येष्ठ नागरिकको चौरासी पूजा गर्न पाइयोस् । चौरासी पूजा गर्ने उमेरसम्म स्वस्थ राख्ने योजना नगरपालिकाले बनाएको छ,’ नगरप्रमुख खाँणले भने, ‘घरको अनुशासनदेखि सरकारले दिने स्वास्थ्य सेवासम्मको व्यवस्था राम्रो हुनु पर्दछ । घरमै स्वास्थ्य सेवा प्रदान गर्ने काम भएको छ ।’

नगरपालिकामा दुई वटा १५ शय्याका अस्पताल निर्माण भइरहेका छन् । संघ सरकारको लागत सहभागितामा अस्पताल निर्माण भइरहेको हो । यस्तै पालिकाको आफ्नै लगानीमा तिलोत्तमा मातृ शिशु अस्पताल निर्माणको तयारी भएको छ । यसका लागि केही समयमा नै ठेक्काको तयारी भएको नगरपालिकाले जनाएको छ ।

महिलालाई आय मूलक काममा जोड्ने, बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, पोषणको व्यवस्था गर्ने काम नगरपालिकाले गरेको छ । बालबालिकामा गरिएको लगानी खेरा जाँदैन र यसले भोलि सुन्दर बिहानी ल्याउँछ भन्ने नगरपालिकाको विश्वास छ ।

भिजिट लुम्बिनी स्टे तिलोत्तमा
१ सय २४ दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तिलोत्तमा नगरपालिका कृषि र पर्यापर्यटनको दृष्टिले प्रचुर सम्भावना रहेको स्थल हो । पर्यटन विकासलाई तीव्रता दिन तिलोत्तमा नगरपालिकाले नजिकै रहेको बौद्ध धर्मालम्वीको तीर्थस्थल लुम्बिनीसँग जोडर आफ्नो पर्यटन प्रवर्द्धन गर्ने सोच अगाडि सारेको छ ।

भिजिट लुम्बिनी स्टे तिलोत्तमा नारा अघि सारेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको काम नगरपालिकाले गरिरहेको छ । लुम्बिनी आउने पर्यटकलाई एक पटक तिलोत्तमा ल्याउने गरी नगरपालिकाले काम गरिरहेको हो । पर्यटकलाई पालिका भित्रका धार्मिक एवं सांस्कृतिक स्थलहरू घुमाउने र यसबाट रोजगारी सिर्जना हुने पालिकाले जनाएको छ । 

कुञ्ज पार्कलाई रात्रीकालीन पार्कको रूपमा विकास गर्ने र त्यहाँ म्युजिकल वाटर फाउन्टेन बनाउन संघ सरकारसँग अनुदान माग गरिएको छ । वनवाटीकालाई प्रवर्द्धन गर्ने काम भइ रहेको छ । विभिन्न वडामा भएका प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गर्नका लागि तिलोत्तमा सम्पदा सूची नै विकास गर्ने योजना नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । सिमसार क्षेत्रमा पनि नगरपालिकाले लगानी गरी रहेको छ ।

यसै गरी सडक निर्माणलाई नगरको प्राथमिकता प्राप्त आयोजनाको रूपमा किटान गरी नगरपालिकाले दिगो सडक निर्माणलाई जोड दिएको छ । १७ वटै वडालाई नगरपालिकाले नगर स्तरीय आयोजनाको रूपमा एक–एक करोड रुपैयाँ उपलब्ध गराएको छ । यसबाट वडाले कम्तिमा एक किलोमिटर सडक कालोपत्रे गरेका छन् । यसबाट पालिकाभित्र १७ किलोमिटर बाटो पिच भएको छ ।

प्रचुर कृषिको सम्भावना रहेको तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्र अन्तर्गत कृषहरुलाई अनुदान, प्रोत्साहन सँगसँगै पूर्वाधारहरूको निर्माण तथा नगर पकेट कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । संघ सरकारको पकेट विकास कार्यक्रम झन्झटिलो रहेका कारण नगरपालिकाले आफ्नै पकेट विकास कार्यक्रम अघि सारेको छ । यो वर्षदेखि लागू भएको उक्त कार्यक्रममा जनताको उत्साह देखिएको छ ।

किसानलाई सहज रूपमा सिँचाइ उपलब्ध गराउन नालाहरू निर्माण, पुनर्निर्माण, मर्मतसम्भार गर्ने काम पनि भएको छ । सिँचाइका बोरिङको विद्युत् महसुल नगरपालिकाले बुझाइ दिने काम गरेको छ । बोरिङहरू मर्मत गर्ने काम पनि नगरपालिकाले गर्ने गरेको छ ।

मानव तथा पूर्वाधार विकास सँगसँगै निश्चित न्याय सम्पादनको कार्यमा समेत स्थानीय तहको जिम्मेवारी रहने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार तिलोत्तमा नगरपालिकामा न्यायिक समिति वा न्याय सम्पादनको कार्य वडागत तहसम्म नै क्रियाशील छ ।

नगर उपप्रमुख जगेश्वर देवी चौधरीका अनुसार पालिकाका सबै वडामा मेलमिलाप केन्द्र गठन भएका छन् । नगरपालिकामा करिब १५० मेलमिलापकर्ता छन् । ‘सुरुमा उजुरीहरू दर्ता गर्ने त्यसपछि म्याद तामेली गर्ने र तामेलीपछि मेलमिलाप केन्द्रमा पठाउने गरिन्छ’, नगर उपप्रमुख चौधरीले भनिन्, ‘मेलमिलाप केन्द्रमा छलफल हुने गर्दछ । मेलमिलाप केन्द्रमा सहमति हुन नसकेका मुद्दाहरू न्यायिक समितिमा आउने गर्छ । कानुनतः तीन महिनाभित्र विवाद निरूपण गर्ने भन्ने भए पनि त्यो भन्दा छिटो नै न्याय निरूपण गर्ने गरेका छौँ ।’

नेपालकै पहिलो परियोजना बैंक
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार तिलोत्तमा नगरपालिका सामाजिक क्षेत्र, फोहोर मैला व्यवस्थापन, पूर्वाधार विकासको साथसाथै मानव विकासको लागि देशभर परिचित नगरपालिका हो ।

तिलोत्तमा नगरपालिका कृषि र पर्यापर्यटनको दृष्टिले प्रचुर सम्भावना रहेको स्थल हो । हरियाली प्रवर्द्धन, बालमैत्री नगर, र अल्प तथा दीर्घकालीन योजना सहितको कार्यसम्पादनका कारण यो नगरले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । ‘सम्भवत नेपालमा स्थानीय तहको इतिहासमै पहिलो पटक परियोजना बैंक स्थापना गरेको छ’, उनले भने, ‘आफ्ना योजनाहरूलाई आर्थिक वर्ष २०८०/८१ देखि तीन प्रकारले आयोजनाहरूको वर्गीकरण गरेको छ ।’ 

एक करोडसम्म बजेट भएका आयोजनालाई तिलोत्तमा प्राथमिकता प्राप्त आयोजना भनेर वर्गीकरण गरिएको उनले बताए । एक करोडदेखि पाँच करोडसम्मको आयोजनालाई तिलोत्तमा गौरवको आयोजना भनेर भनिएको छ भने पाँच करोड भन्दा माथिका आयोजनालाई तिलोत्तमा स्वार्णीम आयोजनाका रूपमा वर्गीकरण गरिएको छ । 

यो परियोजना बैंक अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने र संघ सरकारले पनि अपनत्व लिई कार्यान्वयनका लागि पहल गर्नुपर्ने अर्यालको भनाइ छ ।

सबै शाखा प्रविधिमा
तिलोत्तमा नगरपालिकाले सेवा प्रवाहलाई पहुँचयुक्त र सरल बनाउन प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । सेवाग्राहीको सहजता र सेवा प्रवाह द्रुत बनाउन पालिकाले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको हो ।

सेवा प्रवेशको प्रथम विन्दु दर्ता चलानी शाखा हो । प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार दर्ता चलानी सफ्टवेयर बेस छ । नक्सा शाखा, राजस्व शाखा, स्वास्थ्य शाखा योजना शाखा, जिन्सी शाखा, शिक्षा शाखा, आइटी शाखा लगायतका शाखाहरूको काम सफ्टवेयरबाट हुने गरेको छ । 

न्यायिक समिति, नगरपालिकाले खोल्ने आवेदन, आर्थिक प्रशासन शाखा पनि सफ्टवेयर बेस भएको छ । वडा कार्यालयबाट प्रदान हुने सेवा, नगरभित्रका विद्यालय पनि सूचना प्रविधिमा आधारित बनाउने योजना रहेको छ ।

‘तिलोत्तमा सूचना केन्द्र स्थापना गरेका छौँ । नगरपालिकाका विभिन्न क्षेत्रहरूमा सिसिटिभी जडान गरिएको छ । जसले जनतालाई सुरक्षाको प्रत्याभूति गराएको छ’, नगरप्रमुख खाँणले भने, ‘सडक, नदी किनार लगायत संवेदनशील ठाउँमा सिसिटिभी जडान गरिएको छ ।‘ यसले सूचना, सुरक्षा प्रवाह, विपद् न्यूनीकरण आर्थिक विकासलाई महत्त्व दिने विश्वास लिएको उनको भनाइ छ ।

नगरपालिका संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढेको छ । वडामा निःशुल्क नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सेवाग्राहीको सहजताका लागि वडा कार्यालयहरूमा हेल्प डेस्कहरू समेत सञ्चालन गरिएका छन् ।

वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकका अनुसार निःशुल्क हेल्प डेस्कमा दुई जना कर्मचारीको व्यवस्था गरिएको छ । सेवाग्राहीलाई आवश्यक पर्ने फारमहरू निःशुल्क रूपमा उपलब्ध गरिएको उनले जानकारी दिए । 

यसले सेवाग्राहीलाई सहज भएको छ । ‘पहिले ५० रुपैयाँ दिएर लेखाउनु पर्थ्यो, तर अहिले त्यो हटेको सेवाग्राही बताउँछन् । सहजै छिटो सेवा पाएकोमा स्थानीय सन्तुष्ट छन् भने पालिका सुन्दर सफा भएकोमा दङ्ग पनि ।

हरियाली प्रवर्द्धन, फोहोर मैला व्यवस्थापन, बालमैत्री नगर र अल्प तथा दीर्घकालीन योजना सहितको कार्यसम्पादनका कारण यो नगरले आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । आई.एस.ओ.गुणस्तर प्राप्त गरिसकेको तिलोत्तमा नगरले मानव सँगसँगै पर्यावरण र जीवजन्तुको संरक्षण र व्यवस्थापनमा समेत जोड दिएको छ । खास गरी छाडा पशुबाट निम्तने समस्या समाधानका लागि गौ सेवा आश्रम सञ्चालनमा पनि सहकार्य गरिरहेको छ । जसका कारण बाटोमा गाईको संख्या पनि कम छ ।

धार्मिक महत्वका मन्दिर, धाम तथा वृद्ध आश्रमहरूको निर्माण र सञ्चालनमा पनि नगरले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले कर वृद्धिमा भन्दा करको दायरा बढाउने कार्यलाई प्राथमिकता दिइरहेको छ । 

नगरपालिकाको कार्यसम्पादनलाई छिटो, छरितो र जनमुखी बनाउन छिट्टै नै टाइम कार्ड प्रयोगमा ल्याउँदै छ । जसबाट कुन काम कसले कति समयमा सकिसक्ने भन्ने निक्र्यौल भई सेवा प्रवाह थप तीव्र तर बन्ने छ । 

सेवा प्रवाहलाई घर दैल्होसम्म पु¥याउन नगरपालिकाले सर्भिस मेन्यु नै बनाएर एकीकृत घुम्ती सेवा सञ्चालन गरिरहेको छ । जनताका गुनासा, सल्लाह सुझाव र सूचना प्राप्तिका लागि नगरपालिकाले हेल्लो तिलोत्तमा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

जहाँ फोन मार्फत २४ सै घण्टा आफ्ना सल्लाह, सुझाव र जनगुनासो दर्ज गर्न सकिन्छ । नगरका यी समग्र योजना, लक्ष्य, कार्यक्रम, गतिविधि र प्रयासहरू तिलोत्तमालाई समृद्ध बनाउनका लागि हो । त्यति मात्र होइन मानवतालाई केन्द्रमा राख्ने सभ्य समाज निर्माणका लागि समेत हो । सभ्य नगरको रूपमा विकास गर्ने पालिकाको लक्ष छ । वातावरण स्वच्छ बनाउने योजना अनुरूप पालिकाभित्रका नागरिकले आफ्नो जन्मदिनको अवसरमा बिरुवा रोप्न पालिकाले आह्वान गरेको छ ।

नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबिचको सहकार्यलाई जोड दिएको छ । यस्तै जनप्रतिनिधि, कर्मचारी र नागरिकबिच पनि सहकार्य आवश्यक छ । विकास, अनुशासन, संस्कारका लागि सहकार्य आवश्यक रहेको नगरप्रमुख खाँणको भनाइ छ ।

तिलोत्तमा नगरपालिकामा १ लाख ४९ हजार ६ सय ५७ जनसङ्ख्या रहेको छ भने यहाँ ५८ प्रकारका जातजातिहरूको बसोबास छ । नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथिली जस्ता थुप्रै भाषा प्रचलनमा रहेको यो पालिकाले पछिल्लो समय आफ्नो कार्य सम्पादन र उपलब्धिका कारण चर्चित स्थानीय तहको पहिचान निर्माण गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस