दाङमा सवारी दुर्घटना : ११ महिनामा ९२ जनाको मृत्यु « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दाङमा सवारी दुर्घटना : ११ महिनामा ९२ जनाको मृत्यु


१७ असार २०८१, सोमबार


दाङ । जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ । ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो ।

स्थानीय रुटमा सञ्चालित सवारीसाधनले नियम अनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर सङ्कलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएसँगै यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताए । ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइएको उनले जानकारी दिए ।

बजार क्षेत्रमा अटो अस्तव्यस्तरुपमा सञ्चालन हुँदा सवारीसाधन तथा पैदलयात्रु आवागमनमा समस्या भएपछि अटोलाई तोकिएको स्थानमा व्यवस्थापन गर्न रुट निर्धारण गरी आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने प्रमुख प्रहरी उपरीक्षक शाहीको भनाइ छ । “पछिल्लो समय विभिन्न कारणले गर्दा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले सबै निकाय जिम्मेवार हुन आवश्यक छ”, उनले भने ।

जिल्लामा सवारी दुर्घटना धेरै मात्रामा हुन थालेपछि न्यूनीकरणका लागि सक्रियता बढाउन थालिएको शाहीको भनाइ छ । “ट्राफिक व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो, ट्राफिक व्यवस्थापन भयो भने हुनसक्ने सम्भावित दुर्घटना कम हुन्छ । त्यसैले हामीले ट्राफिक व्यवस्थापनका क्षेत्रमा निगरानी बढाउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “समस्या समाधानका लागि सबैसँगको सहकार्यमा काम भइरहेको छ ।”

यस्तै चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ जनाको मृत्यु भएको छ । जिल्लामा जेठमा छ, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनले भने, “७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको मृत्यु भएको छ । यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन् ।”

बढ्दो सवारीसाधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेकोे प्रमुख प्रहरी उपरीक्षक शाहीले बताए । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस