काठमाडौं । नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले युवा र खेलकुदलाई जोडेर योगाको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको सोच रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले योगाको उपलब्धी बारे चर्चा गरेका थिए । विश्व योगा खेलकुद महासंघकी अध्यक्ष राजश्री चौधरीले मानिसलाई तन्दरुस्त राख्न र स्वच्छ विचार जगाउन योग उपयोगी माध्यम भएको धारणा व्यक्त गरिन् ।
आयोजक योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले स्थापनाको छोटो अवधिमा संघ च्याम्पियनसिप गराउन सफल भएको बताउदै सहयोगी सबैलाई धन्यवाद दिए ।
प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन् । ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा भइरहेको छ । ३५ स्वर्ण तथा उत्तिनै रजत र कांस्य गरी जम्मा १ सय ५ पदकका प्रतिस्पर्धा हुनेछ ।
एसियामै पहिलो पटक योगाको च्याम्पियनसिप भएको आयोजक योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् ।