वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्ने बताएका छन् ।
उनले भने– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्याधिक रहेको छ । ”
राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेका हुन् । उनले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि वताए।
उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबार मात्र बताएका थिए । उनले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गरेका थिए ।
यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उनले गरेका थिए ।
मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उनले भने ।
समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।
वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।
वार्ताको तयारी पुगेको छैन– क्लिन्टन
यसैबीच अमेरिकी डिमोक्र्याटिक पार्टीकी नेत्री तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले उत्तर कोरियासँग गर्ने भनेको वार्ताका लागि आवश्यक तयारी नै नगरेको बताएका छन् ।
उनले उत्तर कोरियासँगको वार्ता त्यति सहज नरहेको भन्दै वार्ता गर्दाको संवेदनशीलता ट्रम्प प्रशासनले अहिलेसम्म पनि नबुझेको आफूले पाएको बताएका एक समाचारमा जनाइएको छ ।
यस संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशानसले गर्न सक्नेमा आफू विश्वस्त नरहेको उनको भनाई थियो ।
पूर्व विदेशमन्त्री क्लिन्टनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्– किम जङ उनीसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धरै कुरामा विचार गर्नुपर्छ र त्यस वार्ताको सम्वेदनशीलता बमोजिम तयारी पनि गर्नुपर्छ ।
अमेरिकी नेत्री क्लिन्टनले ट्रम्प प्रशासनले विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनाएको आरोप लगाउँदै अहिलेकै अवस्थामा उत्तर कोरियासँगको वार्ता सफल हुनेमा आफू विश्वस्त नरहेको बताएकी छिन् ।
अमेरिकाका वरिष्ठ कूटनीतिज्ञहरुको व्यापक तयारी बिना वार्तामा बस्न पनि सम्भव छैन र यो वार्ताको सम्वेदनशीलता र खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैन– उनले भनेकी छिन् ।
तयार गरेरमात्र वार्ता हुन्छ– स्याण्डर्स्
उता राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना प्रवक्ताले वासिङ्टनले उत्तर कोरियाका आगामी दिनका कदमहरू हेरेर र व्यापक तयारी गरेर मात्र उ सँग वार्ता हुने बताएका छन् ।
प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाका आगामी दिनका कारबाहीहरु नहेर्दासम्म राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच वार्ताको हतार नगरिने स्पष्ट गरेका हुन् ।
उनले भने–“वार्तामा खासमा उत्तर कोरियालाई परमाणुअस्त्रको होडबाट निशस्त्रीकरणसम्म पु¥याउने एक महत्वपूर्ण कमद हुनुपर्छ र त्यस कार्यका लागि ट्रम्प प्रशासनले व्यापक मात्रामा तयारी गर्नेछ ।”
गएको बिहीबार अमेरिकाको भ्रमण पुगेका दक्षिण कोरियाली एकजना दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए ।
तर सो वार्ता कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने निश्चित भएको छैन । यस वार्तालाई संसारका मिडियाले पनि बडो रोचक रुपमा पछ्याइरहेको वताइन्छ ।