कञ्चनपुर । सामाजिक सुरक्षा भत्ता नपाएपछि शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिकको तिहार खल्लो हुने भएको छ ।
नगरपालिका कार्यालयले समयमै भत्ता रकम निकासा नगर्दा यहाँका ज्येष्ठ नागरिक खिन्न छन् । भत्ता रकम नपाएपछि यसपालिको तिहारमा रमाइलो गर्ने चाहना अधुरै रहेको उनीहरूको दुखेसो छ ।
नगरपालिकाले समयमा सामाजिक सुरक्षा भत्ताको रकम वितरणका लागि बैकलाई स्पष्ट निर्देशन दिन नसक्दा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपांग, दलित बालबालिकाले रकम पाउन सकेका छैनन् ।
शुक्लाफाटा नगरपालिका–४ का जानकीदेवी डगौराले सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैंजस्तै तिहार पनि खल्लो हुने बताइन् । भत्ता नपाएपछि मिठो मसिनो खान र नयाँ लुगा किन्न नपाएको उनको दुखेसो छ । ‘तिहारमा भत्ता पाइने आशामा थियौं । तर, पाइएन,’ उनले दुखेसो पोखिन् ।
नगरपालिकाका–७ की एकल महिला लालमती देवी जागरीले आर्थिक अवस्था कमजोर हँुदा ऋण निकालेर दसैँ मनाएको बाध्यता सुनाइन् । तिहारमा पनि यस्तै अवस्था भएको उनको दुखेसो छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले समयमै बैंकको खातामा भत्ताबाफतको रकम जम्मा गरिएको दाबी गरे । सामाजिक सुरक्षा भत्ताबाफतको रकम वितरण नहुनुमा बैंकले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
रकम वितरणको जिम्मा पाएको कुमारी बैंक, झलारी शाखाका प्रबन्धक सुशील जोशीले सामाजिक सुरक्षा भत्ता प्राविधिक कारणले बंैकले उपलब्ध गराउने नसकेको बताए । जनशक्ति अभावले समयमै भत्ता उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
सामाजिक सुरक्षा भत्तावापतको रकम बुझ्नेमा पाँच सय ६१ दलित, एक हजार पाँच सय ९१ ज्येष्ठ नागरिक र एक हजार ६ सय १० एकल महिला छन् । यसैगरी, अपांगता भएका व्यक्ति दुई सय ९३, पाँच वर्ष पोषणवापतको भत्ताको रकम पाउने पाँच वर्ष मुनिका दलित बालबालिका सात सय ७४ छन् ।
सामाजिक सुरक्षावापत नगरपालिकाले सात करोड ८७ लाख ९३ हजार छ सय रकम वितरण गर्दै आएको छ ।