बर्दिवास । महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट ३/३ र अन्य ५ गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्तिस्वरुप जनही रु ४०० प्रदान गरेका प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिए ।
विसं २०७४ कात्तिक ११ गते ९१ वर्षको उमेरमा निधन हुनुभएका स्व पौडेलको १३ औँ पुण्यतिथिका दिन छोरा सुवर्णले विद्यालयमा उक्त कोषका लागि रु १ लाख ५१ हजार जम्मा गरेकोमा सो को व्याजबाट छात्रवृत्ति उपलब्ध गराइएको थियो । यसअघि उनले विद्यालयलाई १ बिघा ९२( कठ्ठा),स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखा भवन निर्माणका लागि पाँच कठ्ठा जमीन पनि उपलब्ध गराएका थिए ।