भीमदत्तनगर । खेल जीवनका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे ।
नेपालले हालसम्मको उक्त खेलको इतिहासमा एशियन, साफ र साफ च्याम्पियनसिपमा गरी १५ पटकसम्म अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाइसकेको छ । विसं २०४२ मा कबड्डी खेलमा प्रवेश गरेका भट्ट विसं २०६० पछि कञ्चनपुर जिल्ला खेलकूद विकास समिति प्रशिक्षकको रुपमा कार्यरत छन् । विसं २०५३ पछिका लगातार ७ वर्ष नेपालको कबड्डीमा टोलीनेता रहेका उनले हरेक ४ वर्षमा हुने एशियाली खेलकूद प्रतियोगिता लगातार खेल्ने कुनै बेलाका दुर्लभ खेलाडी पनि हुन् ।
भट्ट जस्तै सयौँ कबड्डी खेलाडी जन्माएको हल्दुुखालबाट हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व टुटेको छैन । भीमदत्तनगरपालिकाको वडा नं ६, ७, ८ र १० सुदूरपश्चिम प्रदेशकै कबड्डीको केन्द्रका रुपमा खेलजगतमा परिचित छ । विसं २०४२ यता हालसम्म भएका नगरस्तरीयदेखि महकाली अञ्चल हुँदै सुदूरपश्चिम प्रदेशको टोलीमा यी वडाका खेलाडीको निरन्तर प्रतियोगितामा सहभागिता रहेको प्रशिक्षक विष्णुदत्त भट्टको भनाइ छ । ‘यहाँको हल्दुखाल, सुकासाल, वनगाउँ, तिलाचौर र ऐठपुर कबड्डी खेलाडीको हबभन्दा फरक पर्र्दैन, उनले भने, ती वडाबाट साफ तथा एशियन प्रतियोगितामा ३६ र राष्ट्रिय प्रतियोगिता ६० महिला पुरुष सहभागी भइसकेका छन्।’
सन् २०१२ मा पनि तिलाचौरका महिला खेलाडी सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले पहिलो महिला विश्वकप कबड्डी प्रतियोगितामा भाग लिएका। सरस्वती हाल निःशुल्क रुपमा स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै हुनुहुन्छ भने लक्ष्मी भने अहिले गृहणी बलेका छन् । आगामी आठौँ राष्ट्रिय प्रतियोगितामा यहाँका महिला खेलाडी स्वर्ण पदकका लागि दाबेदार हुने अपेक्षा गरिएको छ ।’अहिले पनि गाउँमा क्लबदेखि स्कूलसम्म कबड्डीकै रौनक देख्न सकिन्छ’, भट्ट भन्छन्, ‘कभर्डहलमा पनि महिला र पुरुष गरी ७० खेलाडी प्रशिक्षणरत छन् ।’
‘साफ खेलिसकेका यहाँका खेलाडीसमेत अहिले दुबइमा सुरक्षागार्डमा नोकरी गर्दैछन्’, उनले बताउछन्, ‘यहाँबाट उत्पादित धेरै खेलाडी सेना तथा प्रहरीमा जागिरे भइसके ।’ हल्दुखाल क्षेत्र घर भएका ४ खेलाडी सशस्त्र प्रहरीको एपिएफ, ४ महिला खेलाडी नेपाल प्रहरी र सात पुरुष खेलाडी आर्मी क्लबमा अनुबन्धित भइसकेका छन् । पुराना खेलाडीको प्रेरणाले यहाँ चौँथो पुस्तासम्मका खेलाडी कबड्डीमा आवद्ध छन् । घरका बुबादेखि छोरा हुँदै बुहारीसम्म यो खेलमा आबद्ध भइसकेका छन् । तिलाचौरका धर्मे सुनारको परिवारले दशकसम्म कबड्डीमा बिताएको छ ।
विसं २०३७ देखि जिल्लामा शुरु भएको कबड्डी हालसम्म निरन्तर छ । विसं २०४२ मा महाकाली अञ्चलको टोलीले लगातार तीन पटक राष्ट्रियस्तरमा स्वर्ण जितेको थियो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली र दार्चुलामा कबड्डीको नियमित प्रशिक्षण भइरहेको छ ।भीमदत्तनगरपालिका–६ का धनीराम पार्कीले पनि २०४२ को दशकमा कबड्डीमा आफ्नो नाम प्रायः उचाइमै राखे । हाल कञ्चनपुरमै कबड्डी प्रशिक्षकका रुपमा कार्यरत पार्कीले पनि थुप्रै खेलाडी उत्पादन गरिसकेका छन् ।
राष्ट्रिय टोलीमा लामो समयदेखि भीमदत्तनगरका खेलाडीको प्रतिनिधित्व रहेको बताउँदै कबड्डीका पूर्वखेलाडी रमेशचन्द्र ओझा हल्दुखाल क्षेत्र कबड्डीको उर्वरभूमि भएको बताउछन् । ‘हाम्रो क्षेत्रमा कबड्डीमा लगानी गर्ने हो भने अझै उदयमान खेलाडी जन्मिनेमा आशङ्का नगरे हुन्छ ।’ ओझा भन्छन्, ‘त्यसतर्फ राज्यको ध्यान गए मात्रै सम्भव हुन्छ ।’ जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह पनि कबड्डीमा सुदूरपश्चिम मुलुकमै अब्बल छ भन्छन् ।रासस