राँझा । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेशको आवधिक योजना तर्जुमा सम्बन्धी सुझाव सङ्कलन गोष्ठीमा उनले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएकोमा जोड दिए । ‘हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने हो’, उनले भने, ‘कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुनेछ ।’
प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुषालले छलफलको अवधारणापत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तुमा मात्रै नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले गोष्ठी आयोजना गरिएको बताए । कार्यक्रममा बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता छ । रासस