काठमाडौं । डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित भएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ ।
बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु १ लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले उनलाई हस्तान्तरण गरे । नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाको आग्रहमा बेलायतमा बस्दै आएका नेपाल विद्यार्थी संघका नेता राजन खकुरेलको सक्रियतामा रकम सङ्कलन गरिएको हो ।
रकम हस्तान्तरणपछि महामन्त्री डा.कोइरालाले विदेशमा बसेर नेपाली चेलीको उपचारका लागि रकम सङ्कलन गरी पठाएर राम्रो कामको थालनी भएको बताए । सामाखुशीस्थित सुुप्रिम कलेजमा स्नातक तह अध्ययनरत लामालाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको थियो ।
धादिङको नेत्रावती–४ की २३ वर्षीया लामाको अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । यसअघि लामाको उपचारका लागि कोरियामा बस्दै आएका राजु भण्डारीबाट सङ्कलन गरेर पठाइएको रु ४० हजार पाइसक्नु भएको छ ।