दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।
ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।
एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।