तेह्रथुम । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ ।
बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा.विष्णु पाठकले बताए ।
आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताए ।
तेह्रथुममा ‘पत्रकार कल्याण कोष–२०७५’ स्थापना
नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पुर्याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभारम्भ गरेको छ ।
महासंघले पत्रकारिता पेशामा रहेका पत्रकारलाई आइपर्ने विपत्तिको सामना गर्न सहयोग पुर्याउने हेतुले कोषको स्थापना गरिएको महासंघका अध्यक्ष नरेश ढुङ्गानाले बताए ।
कोषको शाखाको ११औँ साधारणसभाको अवसरमा बिहीबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली र म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले कार्यक्रमको शुभारम्भ गरेका छन् ।
कोष स्थापनाकै अवसरमा कोषका लागि करीब रु २ लाख संकलन भएको छ । कोषमा एक लाख ८४ हजार ८९८ प्राप्त भएको शाखाका अध्यक्ष ढुङ्गानाले बताए ।
कोषका लागि महासंघका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेबाट ५ हजार ५५५, केन्द्रीय सदस्य उद्धव तिम्सिनाबाट १० हजार ५५५, अध्यक्ष नरेश ढुङ्गानाबाट ५ हजार ५५५, उपाध्यक्ष भगिश्वर लिम्बूबाट ५ हजार ५, उपाध्यक्ष यशोदा चेम्जोङबाट ५ हजार ५, सचिव प्रकाश धौलाकोटीबाट ५ हजार ५५५, सहसचिव उमेश नेपालीबाट ५ हजार ५५५, कोषाध्यक्ष दीपक कट्टेलबाट ५ हजार ५५५ रुपैयाँ र सदस्य कल्पना लिम्बूबाट ५ हजार ५ रुपैयाँ प्राप्त भएको छ ।