काठमाडौं । मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता बढेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा नेपाल प्रहरीको सक्रियता बढाइएको हो ।
मानवअधिकारको संरक्षणमा नेपाल प्रहरीले विशेष ध्यान दिइने, मानवअधिकारको सवालमा नेपाल प्रहरीले शुन्य सहनशीलता अपनाउने लगायत महानिरीक्षक खनालले मानवअधिकार संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
महानिरीक्षक खनालको निर्देशनमा हाल मानवअधिकार सम्बन्धी छुट्टै रणनीतिक योजना बनाई कार्यान्वयन गरिएको छ । पछिल्लो समय महिला, पुरूष, बालबालिकाका लागि छुट्टाछुट्टै हिरासत कक्षको व्यवस्था गरिएको छ । प्रहरीले विभिन्न सेल गठन गरी मानवअधिकार उल्लंघन भए नभएको भन्नेबारे अनुगमन गर्ने गरेको छ । प्रहरी हिरासत कक्षका सिसिटिभी क्यामेरा जडान गरी गतिविधि नियाल्ने काम एकातर्फ गरिरहेको भने अर्कोतर्फ महिला बालबालिका डेस्क स्थापना गरी मानवअधिकारमा ध्यान दिइएको छ ।
नेपाल प्रहरीले मानवअधिकार सम्बन्धी छुट्टै पाठ्यक्रमसमेत निर्माण गरेको छ । कर्मचारीको बोली, व्यवहारमा नम्रता र नागरिकसँग सम्बन्ध सुधारमा ध्यान दिएको छ ।
यसबारे प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्,’राष्ट्रिय मापदण्ड र संविधानले ग्यारेन्टी गरेका मानवअधिकार संरक्षणमा नेपाल प्रहरी महत्वकासाथ अगाडि बढेको छ । यसका लागि मानवअधिकार शिक्षा दिन प्रहरी कर्मचारीलाई छुट्टै अनुशिक्षण दिएका छौं । वैज्ञानिक तरिका सिकाएर कार्यान्वयन गराएका छौं । हिरासतको स्तर बढाउने र थुनामा रहेकाहरूको अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिएका छौं । यी र अन्य थुप्रै कामका लागि संगठन प्रमुखका साथै समग्र संगठन नै क्रियाशील छ ।’
मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै मानवअधिकार शाखाको स्थापना गरेको छ । शाखाले गरेका कामबारे शाखा प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त भन्छन्,’कानुन कार्यान्वयनको क्रममा मानवअधिकारको हनन् नहोस् भनी मानवअधिकार शिक्षाका लागि प्रहरीलाई छुट्टै तालिम दिइएको छ । हरेक तालिममा मानवअधिकार शिक्षा समावेश गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग लगायत अन्य संघसंस्थासँग समन्वय गरी काम गरिएको छ ।’
यस्तै,मानवअधिकार संरक्षणमा टेवा पुर्याउन नेपाल प्रहरीले मानवअधिकार स्थायी आदेश जारी गरेको छ । विसं २०६४ मा पहिलो संस्करण आएको यस आदेशको हालसम्म चौथो संस्करण प्रकाशन भइसकेको छ । प्रत्येक प्रहरी कर्मचारीले हरहमेसा आदेश पुस्तिका साथमा राख्नुपर्ने प्रावधान छ । साथै मानवअधिकार स्रोत पुस्तिका, प्रहरी द्वैमासिक मानवअधिकार विशेषाङ्क २०६२, मानवअधिकार प्रशिक्षण पुस्तिका समेत प्रकाशन गरिएका छन् । यस कार्यले विभिन्न कारणले मानवअधिकार उल्लङ्घन हुने अवस्थाबाट वचाउन मद्दत गर्ने अपेक्षा छ ।
विविध प्रयास गर्दा समेत मानवअधिकार उल्लङ्घन भएमा नेपाल प्रहरी आफ्नै कर्मचारीलाई कारवाही गर्न समेत पछि परेको छैन । वि।सं २०५९ माघ २ गते मानवअधिकार शाखा स्थापना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरी जवानसम्म कारवाहीमा परेका छन् । तीमध्ये पद घटुवा, तलव घटुवा, वर्खास्त, ग्रेड रोक्का, न्यायिक हिरासत, चेतावनी, बढुवा रोक्का, नसिहत, निलम्बन, क्षतिपूर्ति भराइने लगायतका कारवाही गरिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भन्छन्,’मानवअधिकार प्रहरीबाटै हनन् भएको भन्ने यदाकदा गुनासा, उजुरी आउने र व्यवहारमै देखिएको अवस्थामा आन्तरिक कारवाही गरिएको छ ।’
‘सामान्य नसिहतदेखि नोकरीबाट हटाउनेसम्मका कारबाही गर्न प्रहरी संगठन दृढ भएर उभिएको छ ।’ कारवाहीपूर्व निश्चित अनुसन्धान प्रकृया छ । कुनै कर्मचारीउपर उजुरी परेमा त्यसको सुनुवाई गर्ने व्यवस्था मानवअधिकार शाखाले गरेको छ । यस्ता उजुरी संगठनात्मक तथा व्यक्तिगत दुवै हुने गरेका छन् ।
प्राप्त उजुरी छानवीन गर्दा कुनै प्रहरी कर्मचारी दोषी भएको सवुद पाइएमा मात्र कारवाही हुनेगर्छ । प्रत्यक्ष अनुसन्धान, अनुगमन, आमसञ्चार, मानवअधिकार रक्षक, पीडित, नागरिक समाज एवम् अन्य सरोकारवाला संघसंस्थाको रिपोर्ट आदि समेत सवुदको आधार हुने गर्छन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ र बिभिन्न विशेष कानुनले निषेध गरेका कामहरू गरेकोप्रति विशेष अनुगमन हुनेगर्छ ।
नेपाल प्रहरीको मानवअधिकारप्रतिको नीतिबाट आमनागरिकले न्यायको अनुभव गरेका छन् । नीतिकै कारण अपराध रोकथाम, क्षमता अभिवृद्धि, शान्ति सुरक्षा, अपराध अनुसन्धान आदि विषयमा सहयोग पुगेको छ । जसले गर्दा व्यावसायिक प्रहरी सेवाको विकास, सरोकारवाला संघसंस्था तथा अन्य निकाय एवम् आमनागिरकबाट समेत सहयोग प्राप्त भएको छ । यसबाट मानवअधिकार संरक्षण र प्रवर्द्धनमा राज्यले अख्तियार गरेको नीति कार्यान्वयनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।