काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ ।
खेलको ३ मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए । त्यस्तै खेलेको पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङमार्फत गोल गरेका थिए ।
खेलको पहिलो हाफको ३४औँ मिनेटमा मच्छिन्द्रले १ गोल फर्कायो । उसका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले गोल गरे । जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो । नवौ खेल खेलिसकेको मछिन्द्रले यसअघि एक गोल पनि गर्न सकेकको थिएन ।
खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रहेको एपिएफले दोस्रो हाफमा एक गोल थप्यो । एपिएफका रुपबहादुर लामाले गोल गरे । उनले खेलको ८८औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।
नवौँ खेल खेलेको एपिएफ अंक तालीकाको आठौँ स्थानमा यथावत छ भने पराजित मच्छिन्द्र तीन अङ्कसहित अंक तालीकाको १३औँ स्थानमा छ । जारी लिगमा मनाङमस्र्याङ्दी क्लब २४ अंकका साथ शीर्ष स्थानमा छ भने समान अंक जोडेको संकटा क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै २१ अंकका साथ थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।