विराटनगर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय राजदूतावासद्वारा आज यहाँ आयोजित ‘खुला सीमाका कारण उद्योग र व्यापारमा देखिएका चुनौती एवं अवसर’ विषयक कार्यक्रममा उनले आर्थिक समृद्धिसँग जोडिएको उद्योग र व्यापारका समस्यालाई प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा राख्ने प्रतिबद्धता जनाए ।
उनले प्रदेशको महत्वपूर्ण स्थान विराटनगर विमानस्थललाई सबै मौसममा उडान भर्न सक्ने अवस्थाको बनाइने उल्लेख गर्दै प्रदेशका सम्भावनालाई उच्चतम उपयोग गरिनेमा जोड दिए ।
नेपालका लागि भारतीय राजदूत मञ्जीतसिंह पुरीले नेपाल र भारतको सम्बन्ध नयाँ नभई सदियौंदेखिको रहेकाले प्रदेश नं १ अरु प्रदेश भन्दा बढी सम्भावना र लाभ लिने अवस्थाको भएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालले आर्थिक विकासमा फड्को मार्न भारतसँग फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले प्रदेशका सबै उत्पादनलाई बढावा दिने खालको नीति सरकारले अवलम्बन गर्न प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रममा प्रदेश नं १ का नौ जिल्लाका नेपाल उद्योग वाणिज्य संघका जिल्ला शाखाका सभापति, सुनसरी, मोरङ र झापाका प्रजिअ, प्रहरी प्रमुख, विराटनगर भन्सार र मेची भन्सार कार्यालयका प्रमुख, भारतीय क्षेत्रका भन्सार अधिकारी लगायतको सहभागिता थियो ।