काठमाडौं । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका ५ वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताए ।
सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भनेका थिए, तर पानी जहाज सञ्चालनमा आएन । त्यसैले उनीबाट संसद्लाई जवाफ दिनुपर्छ’, उनले भने ।