काठमाडौं । आज देशभर बदली भएको छ । चिसो बढ्नुका साथै काठमाडौंलगायत देशका विभिन्न ठाउँमा सामान्य वर्षासमेत भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर बादल लाग्ने र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपात हुने छ ।
काठमाडौं उपत्यकाका चन्द्रागीरि, कालिन्चोक, शिवपुरीलगायतका केही डाँडाहरुमा हिमपातसमेत भएको छ ।
आज राति देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने र मध्य र पूर्वी भू–भागका कुनै कुनै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा भएसँगै देशभर चिसो बढ्ने बताएको छ । २४ घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस तथा अधिकतम तामक्रम १८.२ डिग्री सेल्सियस मापन गरिएको थियो।
जुम्लामा सबैभन्दा कम माइनस ०.५ डिग्री तापक्रम रेकर्ड गरिएको महाशाखाले जनाएको छ।