काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०औं यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले गौतमजस्ता घटनाबाट शिक्षा लिँदै मुलुकको विकासमा लाग्नुपर्ने बताए ।
उनले अहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भइसकेकाले सशस्त्र द्वन्द्वका घटनाबाट अहिले पश्चाताप नलिई शिक्षा लिनुपर्ने बताए । उनले भने, ‘हिजो घटना जे जे भए त्यसबाट पश्चाताप लिनु हुँदैन । सबैलाई सम्झीसम्झी मन अमिलो पार्न पनि सकिँदैन ।’
उनले गौतमजस्ता शहीदको सपनालाई पूरा गर्न मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । रक्षामन्त्री पोखरेलले दुई पार्टीको सहकार्य, संवाद र मित्रता बढेपछि एकता भएको भन्दै नेपाली जनता र कार्यकताको चाहना तथा राष्ट्रको आवश्यक भएकाले नै एकता भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले यदुकुमार गौतमको हत्याले मुलुकलाई अपूरणीय क्षति पुगेको बताए । ‘त्यतिबेला गौतमको हत्या नहुनुपर्ने घटना थियो’ उनले भने, ‘पार्टीको योजना र नीतिभन्दा बाहिर गएर उनको हत्या भएको थियो ।’
सशस्त्र युद्धको विकास गर्नमा गौतमको ठूलो योगदान रहेको उल्लेख गदै उनले सशस्त्र गौतमजस्ता मुलुक परिवर्तन गर्नेका लागि नभई सामन्तवाद र निरंकुश अन्त्यको लागि रहेको धारणा राखे ।
सांसद तथा गौतमकी धर्मपत्नी तीर्था गौतमले समय बदलिएकोले अब पुराना घाउलाई कोट्याउन नहुने बताए ।
‘उनको हत्या भएको पनि दुई दशक भयो । अब नयाँ सोचाइ र ढङ्गबाट मुलुकलाई अगाडि बढाउनुपर्दछ’ उनले भने, ‘पुराना कुरालाई नभई अब मुलुकलाई समृद्धि बनाउने दिशामा लाग्नुपर्दछ ।’ गौतमले कम्युनिष्ट एक ठाउँमा आएर मात्र मुलुकको विकास हुन्छ भनेर भन्ने गरेको उल्लेख गदै उनले भने, ‘अहिले उनले भनेको जस्तै पार्टी एक भएको छ । उनले भनेको बाटोमा लागेर मुलुकको समृद्धि गर्नुपर्दछ ।’
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषिकुमार जैसीले गौतमले अङ्गालेको विचारमा लागे मुलुकको परिवर्तन गर्न सकिने बताए । यदु स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका पत्रकार हरिनारायण गौतमलाई सम्मान गरिएको छ ।
सशस्त्र युद्धमा कलम चलाएवापत गौतमलाई १५ हजार रुपियाँको पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी गराए । गौतमलाई रक्षामन्त्री पोखरेले र नेकपाका स्थायी कमिटी सदस्य शर्माले पुरस्कार प्रदान गरे ।
विसं २०५५ फागुन २१ गते तत्कालीन एमालेबाट रुकुम–२ बाट उम्मेदवार भएको बेला तत्कालीन माओवादीबाट उनको रुकुमको गरैला नजिक सानो भेरी नदीको छेउमा हत्या गरिएको थियो । गौतम तत्कालीन एमालेका जिल्ला कमिटी सचिव थिए ।