काठमाडौं । राष्ट्रियसभा बैठकले दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ र राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई सर्वसम्मतिका साथ पारित गर्दै समितिमा पठाएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका थिए ।
त्यसैगरी युवा तथा खेलकूदमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए। दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ टेबुल गरे ।