हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन संघीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्य डा.महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताए ।
प्रदेश नं ३ का नेपाली कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती कम्पनीले मजदूरलाई बेरोजगारीको अवस्थामा पुर्याउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे ।
ट्रेड युनियन कांग्रेस मकवानपुरका सल्लाहकार हरिप्रसाद वाग्ले, ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तारा कार्की र नेपाली कांग्रेस मकवानपुरका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले नेपाली कांग्रेस र ट्रेड युनियनका बीचमा सहकार्य गर्दै मजदूरको हकहितको निर्मित पार्र्टीले रचनात्मक सहयोग गर्नु पर्दछ भने ।
यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश नं ३ द्वारा आयोजित प्रेसका साथै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्ने माग गर्दै आज बिहान निस्केको एक र्यालीले हेटौँडा नगरको परिक्रमा गरी स्थानीय सीमाचोकमा आइपुगेपछि कोणसभामा परिणत भएको थियो । महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट र महासचिव कृष्ण सारुले सरकारले प्रेश र नागरिकको अभिव्यक्ति माथि नियन्त्रण गर्न नहुने सुझाव दिए ।