बागलुङ । अवैध लागूऔषधसहित बागलुङ नगरपालिका–२ का सन्तोष भनिने एडिसन बस्नेत पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा बस्नेतलाई बानपा–१ रामरेखाबाट बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा बस्नेतको साथबाट फेनारगन २४ एम्पुल, डाइजापाम २८ एम्पुल र नुरफिन २६ एम्पुल गरी कूल ७८ एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
“स्थानीवासीको रोहबरमा बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ”, उनले भने । प्रहरीले पछिल्लो समय लागुऔषध प्रयोगकर्तामाथि निगरानी बढाएको छ । लागुऔषध सेवन गर्ने र समाजमा विकृति फैलाउने १६ लाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये पाँचलाई सुधारगृहमा पठाइएको, सातलाई शान्ति सुरक्षाविरुद्ध कसुर मुद्दा चलाइएको र चारलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको छ ।