काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न थप समय दिएको हो।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका उनी केही हप्तायता प्रहरीको अनुसन्धानमा छन्। उनी १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।
उनले बलात्कार प्रयास गरेको आरोप लगाउँदै ती कर्मचारीले प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो।
अदालतले असोज २८ गते उनलाई थप ३ दिन र कार्तिक ३ गते थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो।