काठमाडौं । बिहिबार साँझ मृत्यु भएका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । ह्याम्स अस्पतालमा उपचाररत महाराजगंज निवासी सिंहको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व.सिंहका परिवारजन एवं आफन्तजनलगायतले स्व.सिंहको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व। सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए ।
बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका स्व. सिंहका २ छोरा र २ छोरी छन् । पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।