काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।
प्रधानमन्त्रीले ओलीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री गरी ९ जनाको ठाउँमा नयाँ अनुहार ल्याएका छन् । जसमा हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् भने मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।
नव गठित मन्त्रिमण्डलमा लालबाबु पण्डितको ठाउँमा त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ भने चक्रपाणी खनालको ठाउँमा भुसाललाई कृषि तथा पशुपक्षी मन्त्री बनाइएको छ ।
उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । उपेन्द्रले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।
यसैगरी उद्योग तथा बाणिज्य मन्त्री मातृका यादवको ठाउँमा लेखराज भट्टलाई ल्याइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको ठाउँमा रामेश्वर राय यादवलाई ल्याइएको छ ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठको ठाउँमा बसन्तकुमार नेम्वाङ ल्याईएका छन् भने महिला बालबालिका मन्त्री थपमाया थापाको ठाउँमा पार्वत गुरुङ ल्याईएको छ ।
नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी रहेको छ ।