काठमाडौँ । राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस भएको छ । आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र आयुक्तका लागि कानुन व्यवसायी कमला वली थापा र पत्रकार दीपक मैनालीको नाम सिफारिस गरिएको संचार स्रोतले बताएको छ ।
मैनाली पूर्व माओवादी र थापा पूर्व एमालेको कोटामा सिफारिसमा परेका हुन् ।
सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने संवैधानिक व्यवस्था छ । यद्यपि यसपालि सिफारिस समितिको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेकी थिइन् ।
उनीहरुको नाम आगामी मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि पाँच वर्षे कार्यकालका लागि नियुक्त हुनेछन् । सम्भवतः भोली (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।
आयोगमा यसअघिका पदाधिकारीको समयावधी पुस २० गते सकिँदैछ । आयोगको पदाधिकारीका लागि २२ जनाले आवदेन दिएका थिए ।