१.परिचय
नेपालको हिमाली भेगमा याक चौँरी पालन र च्याङ्ग्रा पालन गरी ऊन तथा पस्मिना उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको छ भने पहाडी भेगमा अंगोरा जातको खरायो पालन गरी ऊन उत्पादन गर्न सकिन्छ । त्यसै गरी तराई भेगमा माछापुच्छ्रे भेडा पालन गरी ऊन उत्पादन गरी नेपाललाई विश्वको सबै भन्दा बढी ऊन उत्पादन गर्ने देशहरूको पंतिमा दर्ज गर्न सकिन्छ । ऊनबाट टोपी, मोजा, पञ्जा, ज्याकेट, कोट, गलबन्दी, सल, पन्छु, राडी, पाखी, कम्बल, गलैँचा आदि लुगाहरू तथा अन्य समानहरु बनाउन सकिन्छ । ऊनी लुगाहरू न्यानो र बलियो एवम् गुणस्तरीय हुन्छन् । विदेशीहरूका लागि निकै आकर्षक हुन्छन् र विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बन्न सक्छ । नेपालको गलैँचा युरोपियन र अमेरिकी मुलुकमा प्रसिद्ध छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य बनिसकेको अवस्थामा नेपाली उत्पादनलाई विश्व बजारमा लैजानको लागि कम्तीमा पनि ८ प्रतिशत स्वदेशी कच्चा पदार्थ हुनु पर्ने प्रावधानले अन्योल बनाई रहेको अवस्थामा नेपालको सबै भूगोल तथा हावापानीमा ऊन उत्पादन गर्न सकिने पर्याप्त सम्भावना रहेको छ । ऊन उत्पादन हुने चौपायाहरूको व्यावसायिक पालन गरी यस बाट स्वरोजगार प्रवर्द्धन गरी आय आर्जन गर्नुको साथै विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि बनाउन सकिन्छ ।
२.भू–बनावट
नेपालको भू–बनावट अनुसार हिमाल पहाड र तराई रहेको छ । हिमाली प्रदेश समुद्र सतहदेखि ३३०१ देखि ८८४८मिटर उचाइ रहेको छ । पशुपालनको लागि ५००० मिटर उचाइ मात्र उपयुक्त हुन्छ । हिमाली भूभाग १५ प्रतिशत रहेको छ । यस प्रदेशमा १६ जिल्ला रहेका छन् । पहाडी प्रदेश समुद्र सतहदेखि ६०१ देखि ३३०० मिटर उचाइ रहेको छ । पहाडी भूभाग ६८ प्रतिशत रहेको छ । यस प्रदेशमा ६९ जिल्ला रहेका छन् । तराई प्रदेश समुद्र सतहदेखि ५८ देखि ६०० मिटर उचाइ रहेको छ । तराई भूभाग १७ प्रतिशत रहेको छ । यस प्रदेशमा २१ जिल्ला रहेका छन् ।
३. हावापानी
भौगोलिक बनावटको आधारमा नेपाललाई पाँच हावापानीको क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
१.उष्ण मनसुनी हावापानी (ट्रपिकल मनसुन क्लाइमेट): उष्ण तथा उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई भावर दून र चुरे क्षेत्रको १२०० मिटर (४००० फिट) सम्मको उचाइमा पाइन्छ । गर्मीमा यहाँको हावापानी ३८ देखि ४२ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने जाडोमा १५ देखि ५ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ ।
२. न्यानो समशीतोष्ण हावापानी (वार्म टेम्प्रेट क्लाइमेट): चुरे पहाड र महाभारत पर्वत क्षेत्रको १२०० मिटर देखि २१०० मिटर (४००० देखि ७००० फिट) सम्मको उचाइमा पाइन्छ । गर्मीमा यहाँको हावापानी न्यानो २४ देखि ३५ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने जाडोमा बढी ठन्डी शून्य डिग्री सेन्टिग्रेड सम्म पुग्दछ ।
३. ठन्डा समशीतोष्ण हावापानी (कोल्ड टेम्पलेट क्लाइमेट): महाभारत पर्वत क्षेत्रको २१०० मिटर देखि ३३५० मिटर (७००० देखि ११००० फिट) सम्मको उचाइमा पाइन्छ । गर्मीमा यहाँको हावापानी न्यानो १५ देखि २० डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने हिउँदमा ज्यादै ठन्डी शून्य डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम तथा हिउँ पर्दछ ।
४.लेकाली हावापानी (अल्पाइन क्लाइमेट): हिमाली क्षेत्रको शुष्क क्षेत्रको ३३५० मिटर देखि ५०००मिटर (११००० देखि १६००० फिट) सम्मको उचाइमा पाइन्छ । यहाँको तापक्रम चैत्र, वैशाख र जेठ महिनामा १५ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने अरू समय शून्य डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम तथा हिउँ पर्दछ ।
५. ध्रुवीय वा हिमाली हावापानी (पोलार अर हिमालयन क्लाइमेट): हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली ध्रुवीय वा टुण्डा हावापानी भनिन्छ । यहाँ सधैँ जसो हिमपात भइरहन्छ भने वर्षाको रूपमा हिउँ नै पर्दछ । यो क्षेत्र ५०००मिटर (१६००० फिट) भन्दा माथिको उचाइमा पाइन्छ । यहाँको तापक्रम शून्य डिग्री सेन्टिग्रेड भन्दा कम हुन्छ । यहाँ मध्यान्ह पछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरभूमी जलवायु हिमालयन डेजर्ट क्लाइमेट) भनिन्छ।
४. हावापानी अनुसार ऊन उत्पादनको लागि पालिने चौपाया
५. ऊन उत्पादनको लागि पालिने चौपाया
१. याक तथा चौरीपालनः कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४–७५ नेपालमा याक चौँरी सङ्ख्या ६९९७८ रहेको छ । नेपाका २८ जिल्लाहरूमा याक र चौरीपालन भइरहेको छ ।
याक : यो समुद्र सतहबाट ३००० देखि ४५०० मिटर उचाइ सम्म सजिलै पाल्न सकिन्छ । यसको भालेलाई याक र पोथीलाई नाक भनेर चिनिन्छ । यसको दूध उत्पादन क्षमता कम भए पनि घृताङस ६.६ प्रतिशत सम्म हुन्छ ।
यसको काँध सिधा, रौँ लामा, सिङ तिखो, लामो र बलियो, अत्यधिक चिसो सहन सक्ने क्षमता भएको, यो करिब ३ वर्षको उमेरमा वयस्क भई ४ वर्षको उमेरमा पहिलो बेत ब्याउँछ । गर्भधारण अवधि २५२ देखि २५५ दिनको हुन्छ । नाकलाई ब्याएको दुई महिना सम्म दुहिँदैन नवजात बाछाको लागि छोडिन्छ र त्यसपछि मात्र दुहिन्छ । यसले १६७ दिनको दुहुनो अवधिमा औसत दैनिक दूध उत्पादन १.३ के.जी. हुन्छ । वयस्क याकको शारीरिक तौल औसत ३५५के.जी. र नाकको तौल ३२५ के.जी. सम्म हुन्छ ।
चौरीः यो नेपालको उच्च पहाडी क्षेत्रमा ९ हजार देखि १५ हजार फिटसम्म पालन गरिन्छ । शुद्ध जातको भालेलाई याक र पोथीलाई नाक भनिन्छ भने वर्ण शंकरलाई चौँरी भनिन्छ । चौँरीको भालेलाई झापा भनिन्छ । यो नपुंसक हुन्छ, भारी बोक्ने र खेत जोत्न प्रयोग गरिन्छ भने पोथीलाई झुमा भनिन्छ नाक र स्थानीय जातको बहरको क्रसबाट जन्मेको डिम्जो चौँरी र याक र स्थानीय गाईको क्रसबाट जन्मेको लाई उराङ्ग चौँरी भनिन्छ ।
डिम्जो चौँरी उचाइमा गएर चर्न सक्ने, ठन्डी सहन सक्ने र दूध उत्पादन राम्रो दिन्छ । उराङ्ग चौँरी उचाइमा गएर चर्न नसक्ने, ठन्डी सहन नसक्ने र दूध उत्पादन कम हुन्छ । चौँरीको दूध, चिज, बटर, घिउ, दही, छेना, छुर्पी, चमर, छाला प्रयोगमा ल्याइन्छ । चौँरी चीज (चौँरी चीज) पर्यटकहरू निकै रुचाउँछन् र विदेशी मुद्रा आर्जनको राम्रो स्रोत हो ।
२. बाख्रापालनः नेपालको सबै हावापानीमा बाख्रा पालन गरिएको छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४–७५ नेपालमा बाख्रा सङ्ख्या १,१६,४७,३१९ रहेको छ । नेपाका पालिएका बाख्राहरू मध्ये च्याङ्ग्राको सङ्ख्या करिब १ प्रतिशत रहेको छ । नेपालमा पाइने स्थानीय जातका बाख्राहरू खरी तथा औले, च्याङ्ग्रा, सिन्हाल र तराई बाख्रा गरी ४ किसिमका बाख्रा पाइन्छन् । यी मध्ये च्याङ्ग्रा पस्मिना उत्पादनको लागि विश्व प्रसिद्ध छ।
च्याङग्राः यो जातको बाख्रा हिमाली क्षेत्रमा पाइन्छ । यसको टाउको सानो तर लामो, नाक सिधा, थुतुनो साँघुरो, सिङ बटारिएको र कसिलो शरीर हुन्छ । यसको पस्मिना भुवादार नरम र न्यानो हुने भएकोले विश्व प्रसिद्ध छ । वयस्क च्याङ्ग्राको औसत शारीरिक तौल २५ देखि ३० के.जी.सम्म हुन्छ । करिब २ वर्षको उमेरमा पहिलो पटक ब्याउँछ । सामान्यतया यो १ वर्षमा १ पटक ब्याउने र एक पाठा वा पाठी मात्र पाउने गर्दछन् । यसले आफ्नो शारीरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्दछ । नेपालको हिमाली क्षेत्रका (२५०० मिटरभन्दा माथि) लागि उपयुक्त जात मानिन्छ ।
३. भेडापालनः नेपालको २ देखि २५ डिग्री सेल्सियस तापक्रम तथा ५० देखि ९० प्रतिशत सापेक्षिक आर्द्रता भएको हावापानीमा भेडा पालन गरिएको छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४–७५ मा नेपालमा भेडा सङ्ख्या ८,००,७४९ रहेको छ भने यी मध्ये लामपुछ्रे १२ प्रतिशत, कागे २१ प्रतिशत, बरुवाल ६३ प्रतिशत र भ्याङ्ला ४ प्रतिशतको सङ्ख्यामा रहेका छन्। ऊन उत्पादन ५,९४,६३९ किलोग्राम रहेको छ ।
नेपालमा पालिने स्थानीय जातका भेडा
१. लामपुच्छ्रे : यो जातको भेडा तराईमा पाइन्छ । यसको पुच्छर लामो हुने भएकोले यसलाई माछापुच्छ्रे भेडा भनिएको हो । यो विभिन्न रङ्गको भए पनि सेतो, खैरो वा कालो हुन्छ । वयस्क थुमाको औसत शारीरिक तौल ३० देखि ४० के.जी.सम्म र वयस्क भेडीको औसत शारीरिक तौल २० देखि २५के.जी.सम्म हुन्छ । यो वर्षको एक पटक ब्याउँछ र २५ देखि ३० प्रतिशत जुम्ल्याहा पाठा पाठी पाउँछ । प्रति भेडा प्रति वर्ष ५०० देखि ७५० ग्राम उन उत्पादन हुन्छ । यसको उन खैरो र खस्रो हुने भएकोले सेतो उनसँग मिसाएर राडी, पाखी, कम्बल बनाउन प्रयोग गरिन्छ । नेपालको पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा बढी मात्रामा पाइन्छ ।
२. कागे : यो स्थानीय जातका भेडा मध्ये सबै भन्दा सानो हुन्छ । यसको टाउको काग जस्तो देखिने भएकोले यसलाई कागे भेडा भनिएको हो । यो भेडा मासु र उन उत्पादनको लागि पालिन्छ । वयस्क थुमाको औसत शारीरिक तौल २० देखि ३० के.जी.सम्म र वयस्क भेडीको औसत शारीरिक तौल १५ देखि २० के.जी.सम्म हुन्छ । यो दुई वर्षमा तीन पटक ब्याउँछ र २५ देखि ३० प्रतिशत जुम्ल्याहा पाठा पाठी पाउँछ । यो भेडा वर्ष भरी प्रजनन हुने गर्दछ । प्रति भेडा प्रति वर्ष ५०० ग्राम उन उत्पादन हुन्छ । यसको उन खस्रो र कमसल खालको हुने भएकोले राडी, पाखी बनाउन प्रयोग गरिन्छ । नेपालको पश्चिमाञ्चल (कास्की, पर्वत र लम्जुङ्ग) तथा ३०० मिटर देखि १५०० मिटर उचाइमा पालेको पाइन्छ । यो आनुवंशिक संरक्षणको लागि पशु विकास फार्म पोखरामा पाल्दै आएको छ ।
३) बरुवाल : यो स्थानीय जातका भेडा मध्ये सबै भन्दा बढी सङ्ख्यामा रहेको हुन्छ । कूल भेडाको सङ्ख्या मध्ये ६० प्रतिशत भन्दा बढी यसको सङ्ख्या रहेको छ । यसको रङ्ग सेतो, कालो वा सेतो –कालो हुन्छ । यो भेडा मासु र उन उत्पादनको लागि पालिन्छ । वयस्क थुमाको औसत शारीरिक तौल ३० देखि ४० के.जी.सम्म र वयस्क भेडीको औसत शारीरिक तौल ३० देखि ३५ के.जी.सम्म हुन्छ । स्थानीय जातका भेडा मध्ये सबै भन्दा ठुलो हुन्छ । यो एक वर्षमा एक पटक ब्याउँछ र एक पाठा पाठी पाउँछ । यो भेडा वर्ष भरी प्रजनन हुने गर्दछ । प्रति भेडा प्रति वर्ष ७५० ग्राम उन उत्पादन हुन्छ । यसको उन खस्रो हुने भएकोले राडी, पाखी, लिउ, कम्बल, लुकुनी र खस्रो गलैँचा बनाउन प्रयोग गरिन्छ । भारी बोक्नको लागि पनि यसको प्रयोग गरिन्छ । नेपालको जुम्ला, मुगु, कालिकोट, डोल्पा, गोरखा, लम्जुङ्ग, रसुवा ओखलढुङ्गा आदि जिल्लामा पाइन्छ । यो भेडा विकास फार्म पानशय खोला नुवाकोटमा पाल्दै आएको छ ।
४) भ्याङ्गलुङ्ग : यो जातको भेडा २५०० मिटरभन्दा माथि उच्च पहाड तथा हिमाली भेगमा पालन गरिन्छ । मनाङ, मुस्ताङ, डोल्पा र जुम्ला जिल्लालाई भ्याङ्गलुङ्ग जोन भनिन्छ ।
स्थानीय जातका भेडाहरू मध्ये सबै भन्दा कम सङ्ख्यामा रहेको छ । कुल भेडाको सङ्ख्या मध्ये ५ प्रतिशत भन्दा कम सङ्ख्यामा रहेको छ । यसको औसत शारीरिक तौल २५ देखि ३५ के.जी.सम्म हुन्छ । प्रति भेडा प्रति वर्ष ७५० ग्राम देखि ११०० ग्रामसम्म उन उत्पादन हुन्छ । यसको उन मसिनो हुने भएकोले गलैँचा, मफलर, सल, पन्जा, टोपी, मोजा आदि बनाउन उपयुक्त मानिन्छ । नेपालको जुम्ला, मुगु, कालिकोट, डोल्पा, गोरखा, लम्जुङ्ग, रसुवा ओखलढुङ्गा आदि जिल्लामा पाइन्छ । कार्पेट उन उत्पादनको लागि यो जातको भेडाको सङ्ख्यामा वृद्धि गर्न आवश्यक देखिन्छ ।
४. खरायो पालन : नेपालको १० देखि २५ डिग्री सेल्सियस तापक्रम तथा ६० देखि ८० प्रतिशत सापेक्षिक आर्द्रता भएको हावापानीमा खरायो पालन गर्न सकिन्छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४–७५ नेपालमा खरायो सङ्ख्या ७५,७४० रहेको छ । खरायो खास गरी ऊन, मासु र मनोरञ्जनको लागि पालिन्छ । खरायोको उनबाट बनेका कपडा बाथ रोग लागेका जोर्नी दुख्ने, मासु दुख्ने बिरामीको लागि उपयोगी हुन्छ ।
उन उत्पादनका लागि पालिने खरायोका जातहरू :
अंगोरा : ऊन उत्पादनको लागि विश्व प्रसिद्ध जात हो । यिनको ऊन साह्रै मुलायम र मोटाई करिब ११ माईक्रोन जति हुन्छ । विभिन्न रङ्गका पाइए तापनि सेतो रङ्ग लोकप्रिय छ । यसको उत्पत्ति जर्मनी भए तापनि हाल विभिन्न देशहरूले यसको विकास गरेको पाइन्छ । यसको आधारमा जर्मन, रसियन, ब्रिटिस, चाइनिज, जापनिज र फ्रेन्च जातका अंगोरा :
१. फ्रेन्च अंगोरा : यसको उत्पत्ति फ्रान्समा भएको हो । अंगोरा जातका खरायो मध्ये सबै भन्दा ठुलो खरायो हो । यो जातको अंगोराको शारीरिक तौल करिब ३.५ देखि ४.५ के.जी.सम्म हुन्छ । यसको अनुहारमा कुनै रौँ हुँदैन । यसको रौँ मुलायम हुन्छ ।
२. इंगलिस अंगोरा : यसको उत्पत्ति बेलायतमा भएको हो । उन उत्पादनको लागि पालिने अंगोरा मध्ये सबै भन्दा सानो खरायो हो । यो जातको अंगोराको शारीरिक तौल करिब २ देखि ३.५ के.जी.सम्म हुन्छ । यसको शरीरको रङ्ग सेतो र कालो वा टाटेपाटे हुन्छ । यसको अनुहार रौँ ले ढाकेको हुन्छ ।
३. जायन्ट अंगोरा : यस खरायोको शरीर अरू भन्दा केही ठुलो हुन्छ । यसको रौँ पनि तीन किसिमको रुबी धातु जस्तो हुन्छ । यस खरायोलाई अल्बिनो खरायोको नामले पनि चिनिन्छ । यसको शारीरिक तौल कम्तीमा पनि ५.४ के.जी. हुन्छ ।
४. स्याटिन अंगोरा : यो जातको अंगोरा सन् १९७० को दशकपछि विकास गरिएको थियो । यो फ्रेन्च र स्याटिन जातको खरायोको क्रस गरी बनाइएको हो । यसको रौं को रङ्ग सेतो, कालो र विभिन्न हुन्छ । यसको अनुहार हिंउको डल्लो जस्तो हुनुको साथै कान र खुट्टामा सेतो भुत्लाका झुप्पा हुन्छन् । यसको औसत शारीरिक तौल ३ के.जी. हुन्छ ।
६. विभिन्न पशुहरूको उन उत्पादन क्षमता तथा ऊनको गुणस्तर :
ऊन उत्पादनमा पशुको जात, उमेर, लिङ्ग, ऊन काट्ने तरिका र मौसमले फरक पर्दछ ।
७. विश्वमा सबै भन्दा बढी ऊन उत्पादन गर्ने दश वटा देश र ऊनको उत्पादन विवरण :
८. निष्कर्ष : नेपाल विश्वमा ऊन उत्पादन गर्न सक्ने प्रवल सम्भावना बोकेको देश मध्ये एक हो । विविधतापूर्ण हावापानी भएको हुनाले सबै हावापानी तथा भूभागमा ऊन उत्पादनको लागि पशुहरु पालन गर्न सकिन्छ । बजारको माग अनुसारको परिमाण र गुणस्तरको ऊन उत्पादन गरी बजारीकरण गर्ने हो भने ऊनमा आत्मनिर्भर हुनुको साथै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हाल नेपालमा न्यूजिल्याण्डबाट वार्षिक करिब ४००० मेट्रिक टन र तिब्बतबाट करिब २००० मेट्रिक टन भन्दा बढी कच्चा ऊन आयात हुँदै आएकोले नेपालमा ऊनको बजार प्रशस्त छ । यसको माध्यमबाट विश्वलाई ऊन उत्पादनको देशको रूपमा चिनाउन सकिन्छ । नेपालमा ऊन उत्पादन गरिने सबै खालका चौपाया पालन गर्न सकिने हावापानी भएकोले यहाँ असल पशुपालन अभ्याससहितको व्यावसायिक पशुपालन, भौतिक पूर्वाधार विकास, उपयुक्त प्रजनन पद्धति अवलम्बन, हावापानी सुहाउँदो नस्लका चौपाया पालन, उचित आहारा व्यवस्थापन, उचित बजार व्यवस्थापन, उत्पादनमा अनुदान दिने, सरल कर्जा उपलब्ध गराएर ऊनी कपडा उद्योग सञ्चालन गर्न सकेमा युवा हरूलाई स्वदेशमा नै रोजगारको पर्याप्त अवसर प्राप्त गरी देशलाई ऊन उत्पादनमा आत्मनिर्भरको साथै ऊनको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी यसैको माध्यमबाट नेपाल सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा साकार पार्न सकिने प्रबल सम्भावना रहेको छ ।
सन्दर्भ सामाग्री
– नेपालमा भेडा पालन केन्द्रीय भेडा बाख्रा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, २०७२ फाल्गुन
– बाख्रा पालन पुस्तिका केन्द्रीय भेडा बाख्रा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, आ.व.२०६७–६८
– कृषि डायरी २०७६ कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन ललितपुर
– पशुपन्छी डायरी २०७५ पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन ललितपुर
– शर्मा, डा. भुवनेश्वरी, चौरीपालन पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन ललितपुर , २०६४ चैत्र
– नाथ, वासुदेव, नेपालमा चौरीपालनको अवस्था द्वैमासिक कृषि, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर वर्ष ५४ असार (श्रावण २०७४ अङ्क २)
– नाथ, बासुदेव, खरायोपालन सहकारी संवाद राष्ट्रिय सहकारी विकास बोर्ड हरिहरभवन, ललितपुर वर्ष २९ अङ्क ७ २०७५ वैशाख पूर्णाङ्क २०२
– लाइभष्टक , नेपाल एनिमल साइन्स एशोसिएसन काठमाडौँ नेपाल, वर्ष १८ अङ्क १६ कार्तिक २०७५
– Banerjee, G.C.A Textbook of Animal Husbandry Eighth Edition New Delhi, India, 2011
–https://www.worldblaze.in/largest-wool-producing-countries/
– https://www.bizvibe.com/blog/textiles-and-garments/top-10-largest-wool-producing-countries/
(लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत छन् ।)