काठमाडौं । संयुक्त राष्ट्र संघको अगुवाईमा शान्ति स्थापनार्थ विभिन्न देशमा धेरै सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल चौथो स्थानमा उक्लिएको छ।
पछिल्लो तथ्यांकअनुसार विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा नेपालका ५ हजार ६ सय ५८ सुरक्षाकर्मी अहिले खटिइरहेका छन्। यसमा नेपाली सेना पाँच हजार ९६ तथा नेपाल प्रहरी र शसस्त्र प्रहरी पाँच सय ६२ जना छन्।
शान्ति स्थापनार्थ विभिन्न एक सय २२ देशले सुरक्षाकर्मी पठाउने गरेका छन्। नेपालले अघिल्लोपटकको तुलनामा एक स्थान सुधार गरेको हो। नेपालले पहिलोपटक सन् १९५८ मा शान्ति स्थापनार्थ सुरक्षाकर्मी पठाएको थियो, द्वन्द्वग्रस्त लेबनानमा।
त्यतिबेला नेपाली सेनाका पाँच जना सैनिक पर्यवेक्षक सहभागी थिए।
त्यसयता नेपाली सेनाका मात्रै एक लाख २९ हजार ८ सय ९९ सुरक्षाकर्मी शान्ती मिसनमा गएका छन्। यीमध्ये एक हजार चार सय एक जना महिला सैनिक छन्।
हाल एक सय ८१ महिला सैनिक शान्ति मिसनमा रहेको नेपाली सेनाले जनाएको छ।