काठमाडौं । भारतको एस बैंकका संस्थापक राणा कपुर पक्राउ परेका छन् । भारतको पाँचौँ ठूलो वाणिज्य बैंक एस बैंकका संस्थापक एवं पूर्वसिइओ कपुर पक्राउ परेका हुन् ।
उनलाई खराब कर्जा, ठगी एवं अन्य बैंकिङ कसुरको अनुसन्धानका लागि भारतमा आर्थिक अपराधको अनुसन्धान तथा अभियोजन गर्ने निकाय डाइरेक्टोरेट अफ इन्फोर्समेन्ट (इडी)ले तीन दिनको न्यायिक हिरासत लिएको हो ।
इडीले गरेको प्रारम्भिक अनुसन्धानबाट उनी भारु ४३ अर्बभन्दा धेरैको ठगी एवं अनियमिततामा संलग्न रहेको देखिएको बताइएको छ ।
इडीको सोधपुछबाट उनका विभिन्न प्रपर्टीहरूमा २० अर्ब भारु लगानी रहेको खुलेको छ । उनको बेलायतमा समेत सम्पत्ति पाइएको छ ।
राणा कपुरको परिवारका सदस्यको थुप्रै फर्ममा संलग्नता रहेको छ । उनकी श्रीमती बिन्दु कपुर १८ वटा कम्पनीको डाइरेक्टर छिन् भने छोरी रोशनी र राधा कपुर २० वटा कम्पनीमा डाइरेक्टर रहेका छन् । उनीहरूमाथि पनि छानबिन चलिरहेको छ ।
कपुर परिवारका सदस्य संलग्न अधिकांश कम्पनीमा लगभग उही व्यक्तिहरू नै डाइरेक्टरका रूपमा रहेको जाँच एजेन्सीले पत्ता लगाएको छ । ती फर्म तथा कम्पनीमा या त कर्मचारी नै छैन, या त एकदमै थोरै छन् । ती फर्मले खासै कुनै व्यवसाय गरेको नदेखिए पनि ठूलो मात्रामा ऋण प्राप्त गरेको पाइएको छ ।जाँच एजेन्सीले कपुरविरुद्ध सम्पत्ति शुद्धीकरण रोकथाम कानुन ‘पिएमएलए’अन्तर्गतसमेत मुद्दा दायर गरेको छ । कपुरविरुद्धको यो मुद्दा ‘दिवान हाउजिङ फिनान्स कर्पोरेसन’ (डिएचएफएल)को ठगीसँग जोडिएको छ । यस बैंकले निक्षेपकर्ताको पैसा डिएचएफएलले जारी गरेको भारु ३७ अर्बको डिबेन्चर किन्न प्रयोग गरेको जाँच एजेन्सीले अदालतसमक्ष बताएको छ ।
कर्जा घोटालामा संलग्न डिएचएफएलले कपुरकी छोरीको कम्पनी ‘डू इट भेन्चर्स’लाई ४० करोडको धितो लिएर ६ सय करोड दिएको थियो । ‘कपिल वाधवन र राणा कपुर निक्षेपकर्ताको पैसा ठग्ने आपराधिक षड्यन्त्रमा संलग्न छन्,’ जाँच एजेन्सीले भनेको छ । तर, कपुरले डू इट भेन्चर्समा आफ्नो कुनै सेयर नरहेको अदालतसमक्ष बयान दिएका छन् । कपुरकी श्रीमती बिन्दुलाई समेत कार्यालयमा ल्याएर इडीले सोधपुछ गरिरहेको छ ।
त्तर प्रदेश पावर कर्पोरेसनको इम्प्लोई प्रोभिडेन्ट फन्ड ‘इपिएफ’ ठगीलगायतका अन्य अनियमिततामाथि समेत उनीमाथि छानबिन भइरहेको छ । २२ अर्ब ६७ करोड ठगीको सो केस अहिले सिबिआईको छानबिनमा छ ।