१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनमा एक कर्मचारीको दैनिकी

अ+ अ-

अघिल्लो मङ्गलवार घोडेजात्राको बिदा थियो । त्यो दिन पनि काठमाण्डौं करिब लकडाउन जस्तो भई सकेको थियो । हामी सबै लकडाउन हुन्छ भन्ने कुरामा ढुक्क थियौँ । त्यो दिन बाहिर निस्किएन । लकडाउनको अनुमान गरी त्यो समयमा अधुरा जति सबै काम सक्न पर्ला भनी सामान्य टिपोट गरेको थिएँ । म हाल काम गर्ने शाखामा खटिनु पहिला खासै जिम्मेवारी नभएर केही महिना बिताउन परेको थियो । त्यो समयमा शिक्षा सम्बन्धी तर कार्यालयभन्दा बाहेकका दुईवटा अनुसन्धान प्रकृतिका कामको प्रतिवेदन लेख्ने जिम्मेवारी अनुसन्धानमूलक संस्था सियरवाट ममा आएको थियो । त्यो काम अधुरै थियो । करिब चार महिना अगाडि प्रकाशित भएको एउटा पुस्तकको अर्को संस्करण तत्कालै निकाल्न पर्‍यो भनी प्रकाशकज्यूले गरेको अनुरोधलाई सम्बोधन गर्ने गरी लेखन कार्य अगाडि बढाउने समय पनि जुरिरहेको थिएन । नयाँ शाखामा गए पछि विकास साझेदारहरूसँग समन्वय गर्न पर्ने सम्बन्धी थुप्रै विषयवस्तु अध्ययन गर्न पर्ने थियो ।

समय व्यवस्थापन गर्न नजानेर हो कि नसकेर असाध्य नै असजिलो अनुभव भई रहेको थियो । साथी डा. लोप्चनले एउटा समसामयिक लेखको अपेक्षा गरेर अनुरोध गर्नु भएको थियो । त्यसमा प्रवेश गर्नै सकेको थिइन । मेरो विषय क्षेत्र त थिएन तर मन्त्रलालको विज्ञानतर्फका सहसचिव सुरेश सुवेदी सरको सिफारिसमा हो कि जस्तो लाग्छ राष्ट्रिय विज्ञान प्रविधि तथा नव-प्रवर्तन नीति, २०७६ का विषयवस्तुका आधामा कार्यान्वयन रणनीति निर्माण कार्यदलमा परेको थिएँ । त्यसको काम पनि खासै अगाडि बढ्न सकेको थिएन । दुई होनहार युवा भाइहरू गणित शिक्षक राजु र विज्ञानका शिक्षक शिवको समसामयिक विषयवस्तुमा पुस्तक प्रकाशन गर्ने उत्साहमा मैले अगुवाइ गर्न पर्ने केही हप्ता पहिलाको प्रतिवद्दता पनि अधुरै थियो । यी विषयवस्तुहरू मेरो कामको सूचीमा परे । मूल रूपमा दुई भाइहरूसँगको पुस्तक लेखन कार्य र कार्यालयका अधुरा र अस्पष्ट कामहरू अगाडि बढाउन सकिन्छ होला भनी एक किसिमले खुसी भएको थिएँ । साँच्चै नै लकडाउन भयो । त्यो पनि एक हप्ता बितेछ । यो एक सातमा म के भएँ ? एक घरमा बन्दफ कर्मचारी ? अध्ययन कर्ता ? सिकारु ? पाठक ? लेखक ? परिवारको एक सदस्य ? असजिलो परिवेशको जिम्मेवार नागरिक ? लथालिंगको वा भद्रगोले मानिस ? म एकै शब्दमा भन्न सक्दिन, यसको जिम्मा पाठकलाई । यो सात दिनको दिनचर्या यस्तो रह्यो ।

बिहान ४.३० मा उठ्छु । चार लिटर जति पानी उमाल्छु । दुई लिटर जति थर्मसमा हालेर श्रीमती र छोरीलाई राखिदिन्छु । करिब दुई लिटर पानी तामाको जगमा लिएर सुत्ने कोठाको कुनामा पलेटी कसेर पढ्ने मेरो आसनमा पुग्छु ।

ल्यापटपमा इन्टरनेट र इमेल मार्फत रातभरको कोरोना लगायतका समसामयिक विषयवस्तु जानकारी लिन्छु । अनि मेरो नियमित अध्ययन सुरु गर्छु । करिब तीन घण्टा त्यो आसनमा बिताउँछु । त्यति वेलासम्म तामाको जगको पानी पनि सकिइसकेको हुन्छ । म पनि थाकी सकेको हुन्छु । म आसनवाट उठ्छु । ल्यापटप र अरू पढ्ने सामग्री बैठक कोठामा लगेर थुपार्छु ।

भान्छा कोठामा जान्छु र बेसार-कागती मिसाएर दुई गिलास पानी बनाउँछु । एक गिलास पिउँछु । एउटा स्याउ खान्छु । बेलुकी नै भिजाएर राखेको ५ वटा देशी बदाम र १२ वटा खुर्पानी खान्छु । दारी फाल्छु तर मसिनो बनाउँदिन । अनि नुहाउँछु । नुहाए पछि तत्कालै योगमा बस्छु । योगमा प्राणायाम, व्यायाम र आसन गर्छु । यसका लागि करिब डेढ घण्टा बिताउँछु । त्यति वेलासम्म बिहानीको नौ बजिसकेको हुन्छ ।

गुर्जोको पानी तयार भैसकेको हुन्छ । तीनै जनाले एक एक गिलास बिस्तारै पिउँछौँ । करिब दुई महिना पहिला बर्दियाबाट साथी होमनाथकी भतिजी शिबुले एक भारी जति गुर्जो पठाइ दिएकी थिइन् । यस्तो वेलामा त्यसको महत्त्व र हामीकोमा उपलब्धताको संयोग देखेर दङ्ग पर्छु । फोनमा तत्कालै शिवुलाई धन्यवाद दिऊ भनेर तम्सिन्छु तर यस्तो प्रशंसा गर्न शब्दै नभएको विषयमा धन्यवाद खल्लो हुन्छ भन्ने लागेर फोन गर्ने आँटै गर्दिन। अनि खाना खान्छौँ । म बैठक कोठामा झर्छु र नियमित काम सुरु गर्छु ।

जब बैठक कोठामा झर्छु । कामै काम देख्छु । सामान्यतया दिउसो कार्यालय सम्बन्धी मात्र काम गर्न पर्ला भन्छु र सुरु पनि गर्छु कहिले छणभरमै थाक्छु कहिले केही लम्बिन्छ । आगामी दश वर्षको राष्ट्रिय शैक्षिक योजना बनाउने कामको समन्वय गर्ने जिम्मेवारी हाम्रो शाखाको छ । एक वर्षभित्र सो योजना निर्माण गरी सक्नु पर्दछ । सोही अवधिमा करिब दश वटा राष्ट्रिय तहका अनुसन्धान कार्य पनि गरिसक्नु पर्ने छ र ती अनुसन्धानका नतिजालाई योजनामा समावेश गर्न पर्ने छ । केही समय त्यस विषयसँग सम्बन्धी विषयवस्तु अध्ययन गरेर बिताउँछु । त्यसमध्ये भुटानको शैक्षिक योजना अलि घत लागेर पढेँ ।

समय समयमा विदेशी विकास साझेदारले फोन गर्छन् । उनीहरूसँग कुरा गर्छु । शाखामा भरखर गएकोले धेरै कुरा थाहा छैन । धेरै जिज्ञासा नराखे हुन्थ्यो भन्ठान्छु । अचानाको चोट खुकुरीलाई कसरी थाहा होस र ! यो विषयमा मेरो सहयोगी पात्र रश्मि जी बनेकी छिन् । उनको जागिर विश्व वैंकमा हो । विकास साझेदारको तर्फबाट सम्पर्क व्यक्ति (फोकल पर्सन)को रुपममा काम गर्छिन् । उनलाई सरकारी काम र मन्त्रालय पद्धतिका बारेमा गहिरो जानकारी छ । हाम्रै शाखाका कामका बारेमा हामीलाई भन्दा बढी जानकारी उनलाई छ । हामी एक दुई दिन बिराएर कुरा गरिरहन्छौ । रश्मि जीबाट धेरै सिक्दै छु ।

यो समयमा दिनदिनै र धेरैजसो एक दिनमै धेरे पटक सम्पर्कमा भएका व्यक्ति हुन जीमी ओस्ट्रन । उनको नाम जीम ओस्ट्रन भएता पनि हामी बोलीचालीमा जीमी भन्छौँ । उनी युनिसेफका जागिरे हुन । उनलाई नेपालमा १० वर्षे शिक्षा योजना निर्माणमा सहयोग गर्ने जिम्मेवारी कार्यालयले दिएको छ रे ! उनी अदभूतका मानिस छन् । मैले जे विषयको जिज्ञासा राखे पनि केही समय पछि केही न केही पढ्ने सामग्री उपलब्ध गराइहाल्छन् । मैले केही विषयवस्तु लेख्ने प्रयास गर्छु त्यसमा अलमल भए उनलाई सोध्छु तत्कालै सहज बनाइदिन्छन् । योजनाको कार्य सर्त निर्माण र सो सम्बन्धी कार्यमा उनी लागि परेका छन् उनले पठाएका सामग्री पढ्छु अनि प्रतिक्रिया दिन्छु ।

छिनभरमै तपाइले दिएको पृष्ठपोषण समावेश गरेर इमेलमा पठाएँ भनी एसएमएस गरी सकेका हुन्छन् । विश्वास नलागेर सबै दस्ताबेज घण्टौँ लगाएर पुनरावलोकन गर्छु । जे गन्थन गरेका हुन्छौँ उस्तै भाव आउने गरी समावेश गरेका हुन्छन् । उनको जाँगर, काम गर्ने शैली र संवेदनशीलता देखेर म दङ्ग पर्छु । हामी सबैले यसरी नै काम गर्ने हो भने, हामी कस्तो भइने थियो होला भन्ने लाग्छ । मलाई जानकारी भए अनुसार विदेशीहरू सामान्यतया बिदामा काम गर्दैनन् ।

मनोरञ्जन र घुमघाममा बिताउँछन् । तर जिमी अचम्मका प्राणी छन् । जहिले जुन सुकै वेलामा पनि उपलब्ध हुन्छन् । कहिले काहीँ त राती एक दुई बजे मलाई इमेल गरिरहेका हुन्छन् ।

लकडाउन हुन भन्दा केही दिन पहिला दुई दिन जति सम्पर्कमा आएनन् उनी त पहाड चढ्न र घुम्न (हाइकिङ) पो गएछन् । साह्रै मनोटोनस भयो ३८ घण्टा लगातार दगुरेर आएको भने । मैले खासै वास्ता गरेको थिइन । उनले काठमाण्डौं उपत्यकालाई पहाडबाट एक फन्को लगाएको भने पछि पो म झस्केँ । काठमाण्डौं उपत्यकाको डाँडै डाँडा पहाडका टप्पैटुप्पोवाट एक चक्कर लगाउन निकै हिँड्ने मानिसका लागि एक हप्ताको बाटो हो रे ! उनी बस्दै नबसी लगातार दगुरेर ३८ सै घण्टामा पार गरेर फेरि भोलिपल्ट कार्यालयमा हाजिर भए छन् । संसारमा यो भन्दा रमाइलो र राम्रो ठाउँ नै छैन भनेर यात्रा वृत्तान्त भन्दै गरे म सुनिरहेँ । उनको काम गर्ने शैली र तरिका पनि त्यस्तै छ । मलाई अलि अल्छी लाग्यो वा के गरम के गरम जस्तो लाग्यो भने उनीसँग सम्पर्क गर्छु कि त इमेलमा केही कुरा लेख्छु अनि सुरु भई हाल्छ कुराको आदान प्रदान ।

दिन कसरी बित्छ पत्तै पाउँदिन । छोरीले घरी ग्रीन टी,  घरी पानी, घरी फलफूल लिएर आउँछिन् दिन्छिन् जान्छिन् । नास्ता भने ममीको जिम्मामा परे जस्तो लाग्छ । कार्यालयका काममा थाकेपछि अरू काममा पनि समय बिताउने प्रयास गर्छु । मूल रूपमा शिव र राजुको पुस्तक लेखनमा सहकार्य गर्न पुग्छु । जिज्ञासाका बारेमा छलफल हुन्छ । प्रगतिको समीक्षा गरिन्छ । हरेक समस्याको समाधान सहजै मबाट हुने उनीहरूको अपेक्षाले पनि मलाई कहिले काहीँ इज्जत जोगाउन हम्मेहम्य परेको हुन्छ । तथापि उनीरुको जाँगर र आत्मबलमा न्यूनता आउला कि भनी यसलाई अभिव्यक्त गर्दिन ।

पाँच बजे–छ बजेको बिचमा म बैठक कोटाबाट निस्किन्छु । घरको सबै भन्दा माथिको छतमा हावा चल्ने हुँदा दोस्रो तल्लाको आधा छतमा जान्छु । लकडाउनको सुरु दिनमै मलाई वडा अध्यक्षले दुई वटा कामको जिम्मा लगायत छन् । उनले भनेका छन् -‘सर हजुरले तपाइको टोलमा यो वेला खानै नपाउने समस्या कसैलाई पर्‍यो भने र कोही नयाँ मानिस आयो वा कोरनाको संकास्पद मानिस देखियो भने खबर गर्नु होला म त्यसको जिम्मा लिन्छु । उनको यो भनाइ प्रति म कृतज्ञ भएको छु । वडावासी नागरिकको हैसियतले जिम्मेवारी निभाउन लागि परेको छु । मैले पनि यो विषयमा जानकारी प्राप्त भए तुरुन्तै खबर गर्न केही छिमेकी हरूलाई समेत भनेको छु । नजिकका प्राय: छिमेकीको मसँग फोन नम्बर छ । यसो विचार गरेर कहिले कसैलाई कहिले कसैलाई फोन गर्छु । अवस्थाको समान्वीकरण गर्छु । अहिलेसम्म अध्यक्ष ज्यूलाई भन्नै पर्ने घटना देखिएको छैन ।

लकडाउनको दोस्रो दिन बिहान मलाई एक जना छिमेकी ध्रुव सापकोटाको फोन आएको रहेछ । मैले सामान्यतया बिहानको नित्यकर्म नसकी फोन उठाउँदिन । पछि कलब्याक गरेँ । वहाँले सरसरी आफ्नो कुरा यसरी सुनाउनु भयो । ‘सर हामीले गर्न पर्ने के होला । यो साह्रै ठुलो समस्या रहेछ । सरकारले मात्र गरेर पनि हुने रहेनछ । यो कस्तो वेला आयो’ ….आदि । मैले हामी घरमै बस्ने ननिस्कने, निस्कनै परे सतर्क भएर निस्कने यस्तै होला भनेँ । तर वहाँ अघिपछि छोटो कुरा गर्ने मान्छे फोन राख्न त्यति मन गर्नु भएन । अनि मैले प्रति प्रश्न गरेँ तपाइलाई के लाग्छ ?

हामीले के गर्न पर्छ होला भनेँ । वहाँले सरसरी भन्नु भयो ‘हाम्रै छिमेकी पसलहरूमा सरसरी मास्क पन्जा केही नलगाएर सामान बेची रहेका छन् । हाम्रो अगाडि पसलेलाई त मैले बाहिर पानी र साबुन राख्नु, हात धुन लगाएर मात्र कारोबार गर्नु आफूले पनि मास्क पन्जा लगाएर काम गर्नु । त्यसको खर्च जोडेर हामी किन्ने मानिसबाट लिनु । मौका यही हो भनेर अस्वाभाविक धेरै चाही नलिनु भने सर भन्न मिल्ने थियो कि थिएन । मैले त भने, ती पसले भाइले सहजै लिएनन् । रिसाएकी जस्तो लाग्यो । यही खसखस लाग्यो र पनि सरलाई फोन गरेको’ भनेर वहाँले एकोहोरो कुरा फोनमा सुनाउनु भयो ।

वहाँको त्यो भनाइले त मलाई चेत खुले जस्तो भयो । मेरा छिमेकी ध्रुव सर निवृत्त सरकारी कर्मचारी हुनुहुन्छ । वहाँ ठुलो पदको जागिरे होइन । लेखपढ पनि धेरै छैन जस्तो लाग्छ । सामान्य लेखपढ पनि वहाँलाई सजिलो हुँदैन जस्तो लाग्छ । तर वहाँ विवेकशील हुनुहुन्छ । पढेको मन्छे विद्वान कि नपढेको भन्ने विषय उब्जिदा म वहाँलाई सम्झन्छु । गत वर्ष टोलको बाटो निर्माणमा पनि वहाँको भूमिकामा पाकोपन थियो । हाम्रो बुबा बितेको वर्ष एक असल छिमेकीको रूपमा वहाँले निभाएको भूमिका हाम्रो परिवारमै चर्चा र स्मरणको विषय बनेको छ । वहाँ पूर्वपरिचित मानिस पनि होइन, यही हाम्रो बसोबास भए पछिको चिनजान हो । वहाँसँग नतमस्तक हुँदै मैले भने -‘तपाइले यति धेरै विवेक पूर्ण काम र कुरा गर्नु भयो मलाई त होस आए जस्तो भयो । कोही रिसाएर केही हुँदैन हाम्रो नियतमा खराबी नभए हुन्छ जस्तो लाग्छ । ल यो बारेमा म पनि थप प्रयास गर्छु । धन्यवाद ! कुरा गर्दै गर्नपर्छ’ भनेर फोन राखेँ ।

तुरुन्तै वडा अध्यक्षलाई फोन गरेँ । यही कुरा सुनाएँ । वहाँले ‘मैले फोन राखेँ सर म तुरुन्तै त्यही काममा लागेँ हाम्रो वडामा सबै पसलमा राखिन्छ’ भन्नुभयो । प्रयास गरेको पनि बुझियो तर सबैले अवलम्बन गरेको भने पाइएको छैन । मेरो दिन चर्यामा बेलुकी छ बजेपछि छिमेकीलाई फोन गर्ने आफ्नो कुरा नागरिकको दृष्टिले भन्ने भई रहेको छ । अहिलेको विषम परिस्थितिको बारेमा जानेका कुरा फोनमै आदान प्रदान हुन्छ । बेलुका पख छतमा बसेर टोल र छिमेकको अवस्था थाहा पाउने एउटा माध्यम पल्लो घरको छत पनि बनेको छ । सबैभन्दा नजिकको पल्लो घरमा तीन तलामा तीन परिवारका मानिस बस्नुहुन्छ । त्यो घर साथी गणेश ढकालजीको सानिमाको हो । त्यसैले हामी सानिमा सानाबा भन्ने गर्छौ । हामीले भन्ने गरेर होला अरू टोलवासीले पनि त्यही भन्छन् । मानौँ वाहाँहरुको नाम नै सानावा-सानिमा हो । वहाँहरूको व्यवहार पनि हामी प्रति अभिभावकको जस्तै छ ।

अरू दुईवटा परिवार पनि हामीसँग निकट छ । एउटा परिवारसँग कर्मचारीको सम्बन्ध छ । वहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुनुहुन्छ । घुमाएर कता-कता सम्बन्धित पनि पर्नु हुदो रहेछ । अर्को परिवारसँग जिल्लावासीको नाता जुरेको छ । कहिलेकाहीँ त छरछिमेकका, टोलका, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु छलफल गर्ने औपचारिक थलो जस्तै बन्छन् यी दुई घरका छत । एक दिन सानावा र सानिमाले दिन बिताउन गाह्रो भयो भन्नुभयो विभिन्न प्रसङ्ग उठे । यस वर्ष मैले लेखेको दोस्रो पुस्तक पढ्न दिएँ । पढ्दै गर्ने क्रम छ क्यारे । यदाकदा ‘तपाइको बाल्यकालदेखि तपाइको पहाडमा बिताएको जीवन शैली र आमाको बारेमा लेखेको कुरा पढेर अचम्म लाग्यो’ भन्नुहुन्छ म मक्ख पर्छु ।

यति गर्दासम्म खाना खाने वेला भई सकेको हुन्छ । खाना पकाउने ढंग छैन भनेर बहिष्कारमा परे पनि भाँडा माझ्न भने सहभागी हुन्छु । आठ बजेसम्म हामी खाना खाएर सकिसकेका हुन्छौ । खानापछि तास खेल्ने कुरा चल्छ । तास खेल्न खासै मन लाग्दैन तर परिवारको आग्रहलाई हुँदैन भन्दिन । धेरैजसो हार्छु । हार्दा खुब पछुतो लाग्छ । कहिलेकाहीँ जित्छु पनि तर जित्दा त्यति खुसी र उत्साह आउँदैन । परिवारका तीन जना मात्र खेलिने भए पनि पैसा राखेर नै खेलिन्छ ।

एक घण्टाभन्दा बढी तास खेलिँदैन । यही बेला जर्मनमा भएका यसरी लकडाउनमा कलेजको छात्राबासमा रहेका छोरा सागरसँग कुरा हुन्छ । उनीलाई उनको अफिसले घरमै बसेर काम गर्न भनेको रहेछ । महिना पुगेपछि तलब खातामा हालिदिने रहेछ । तर काम भने पूरा गर्न पर्ने बन्दोबस्त मिलाएको रहेछ । काममा अझ तीव्रता आएको उनको ठम्याइ छ । त्यसो भए हामी पनि त्यसरी कार्यालय व्यवस्थापन गर्न किन नसक्ने जस्तो लाग्छ । तर सामान्य भिडियो कन्फरेन्स गर्न पनि सकिएको छैन । सुत्नभन्दा पहिला एक गिलास दूध र दूईवटा ओखर खाने चलन करिब दुई वर्षबाट बसेको हो । तर लकडाउनका कारणले दूध ल्याउन छाडियो, ओखर चाही खाने गरिएकै छ । यति वेलासम्म मेरो एक दिनको चक्रमा एउटा मात्र काम बाँकी हुन्छ । त्यो हो सुत्ने । नौ र साढे नौ को बिचमा म सुतिसकेको हुन्छ ।

बेलाबेलामा समाचार र लेखहरू पनि पढ्ने गरेको छु । विद्या सरले नातिसँग खेलेर सिक्ने सिकाउने गरेका विषय विद्यालय बन्द भएर घरै बसेका बालबालिकाका लगी उपयोगी हुने रहेछ भन्ने सुझ पस्यो । मेरा अनन्य मित्र कीर्तिपुर पढ्दाका सहपाठी लिटिल एन्जेल्सका अहिलेका प्रिन्सिपल मुकुन्द शर्माले एसइई दिने बालबालिकाका लागि भनेर सामाजिक सञ्चार माध्यममा आएका विषय पनि निकै घत मानी मनी पढेँ । आजसम्म शिक्षा क्षेत्रमा काम गर्दाको अनुभवका आधारमा बालबालिकालाई काम लाग्ने उनी हरूले थाहै नपाइ सिकी हाल्ने मिकिमाउस जस्ता केही सामग्री वा लेख तयार गरौँ कि जस्तो भावना मनमा आउँछ तर व्यवहारमा रूपान्तरण गर्ने अक्कल आएको छैन । त्यसैगरी केही हप्ता पहिला साथी प्रह्लाद अर्याल र म भएर एउटा लेख तयार गरी लन्डनस्थित ब्रिटिस काउन्सिलबाट प्रकाशन हुने पत्रिकाको लागि एउटा लेख तयार गरेर पठाएका थियौँ । यही बिचमा त्यो पत्रिकाका प्रधान सम्पादक जेससँग पनि तीनै जना तीन ठाउँमा बसेर दूरभासको माध्यमबाट दुई घण्टा लामो कन्फरेन्स गरियो । उनले नेपालको सन्दर्भ नबुझेर बुझाउन निकै सकस पर्‍यो । उनी पनि ज्याद्रो रहिछन् । थ्याकयु थ्याकयु भेरी गुड भनी भनी आफ्नो कुरा नछाड्ने । जे होस सिकाइ राम्रै भयो उनीहरू विषयवस्तुलाई कसरी बुझ्दछन् र कसरी व्याख्या गर्दछन् भन्ने कुरामा केही अनुभूति गर्न पाइयो ।

धेरे मानिसहरूले यो वेला घरको काम सघाएँ । लुगा धोएँ । घर सफा गरेँ भनेर मिडियामा आएको पढ्छु तर म भने यो पक्षमा अरू समयमा भन्दा कमजोर भएको छु । अघिपछि पो सबैको काम हुन्छ र सबैले सबै काम गर्न पर्छ अहिले त सबैलाई फुर्सद छ । त्यसैले जसलाई जे जाँगर चल्दछ त्यही काम गरे हुन्छ भन्ने मनोविज्ञानले काम गरेको हो कि जस्तो लाग्छ । बेलुकाको खाना बनाउन कहिले काहीँ तम्सिन खोज्छु तर तपाइले पकाएको तरकारी मिठो हुँदैन भन्ने भनाइ सुन्न पर्छ । धेरैजसो प्रसङ्गमा छोरी मेरो पक्षमा देखिने भए पनि यो विषयमा ममी कै कित्तामा देखा फर्छिन ।

ठुलो दाज्यू बिमारी हुनुहुन्छ । वहाँ अहिले दह चोकको घरमा हुनुहुन्छ । करिब तीन महिना पहिला बिमारी परेर अस्पतालबाट ल्याए पछि प्राय शनिवार अथवा हप्ताको एक पटक पुग्ने गरेको थिएँ । तर यो पटक हिँडेर नै पुग सकिने दुरी भए पनि गएको छैन ।अहिले सबै जना घरै भएकोले न्यास्रो अनुभव गर्नु भएको छैन होलाकी भन्ने अनुमान गरी त्यसै भुनभुनिदै बसिरहेको छु । मेरो फोन गर्ने त्यति आदत छैन । कतिपय शुभचिन्तक र आफन्त मान्यजनहरूले पैसा खर्च हुन्छ भनेर गरेन भनेको पनि सुन्न परेको छ । तर मैले धेरै समय देखि फोन प्याकेज लिने गरेको छु । त्यो प्याकेजको रकम सामान्यतया तोकिएको अवधिमा सिद्धिएको हुँदैन । ‘काम परे त गरिहाल्छु’ भन्छु तर तत्कालै प्रतिक्रिया आइहाल्छ ‘तलाई हामीलाई फोन गर्न पनि काम पर्न पर्छ’ भनेर कहिले काहीँ खप्की पनि खान परेको छ । ‘दुनियाँलाई फोन गर्न तपाइलाई समय हुन्छ दिदीहरू दाइहरू र आफन्तलाई गर्न फुर्सद हुँदैन’ भनेर घरकै भनाइ पनि सुन्न परेको हुन्छ । यो पटक भने सबै आफन्तलाई एकसरो फोन गरेँ जसजससँग सम्पर्क भयो कुरा गरेँ । एक पटक फोन नलागेकाहरूलाई भने फेरि दोहोर्‍याइन ।

टिभी खासै हेर्दिन तर अनलाइन मेडियावाट अपडेट भई रहन्छु । डाक्टर र सुरक्षा कर्मीको दुःख देखेर मन चसक्क हुन्छ । तर आफ्नो बलवुतामा नभएको कुरा चिन्ता लिएर के गर्नु भनेर चित्त बुझाउँछु । तै पनि डाक्टरहरूलाई छिमेकी र घरकाले समेत घरमा नआए हुन्थ्यो भनेर भन्ने गरेको समाचार मन मस्तिष्कमा रुमल्लिन छाड्दैन । धनगढीका कोरोना सङ्क्रमितका परिवारलाई  क्वारेन्टिनमा लगेर राखेको र घरका गाई भैँसीलाई पानी खुवाउनेसम्म मानिस नभएर कराइ रहेको समाचार सुन्दा र हेर्दा मन भरङ्ग हुन पुग्छ । सहनुको विकल्प मसँग केही छैन । आफै सहजै सम्हालिन्छु ।

मेरो कार्यालयको शाखामा काम गर्ने परिवार सानो छ । दुई जना अधिकृतहरू वाइपी जी र सरिता । सरिता जी बच्चा पुर्‍याउन बागलुङ घर जानु भएको उतै लकडाउनमा पर्नुभयो । ठिकै पनि भयो । बिचमा सम्पर्क भएको थियो, घरपरिवारसँग रमाएर नै बस्नु भएको छ । वाइपि जी काठमाण्डौं मै हुनुहुन्छ । वहाँलाई एमफिल सकेदेखि नै पिएचडी गर्ने पिरलोले समातेको छ । वहाँको अध्ययनशील ऊर्जा र तागतलाई कार्यालयको कामसँगै मिलाएर पारखमा कसरी बदल्ने होला मेरो निम्ति पनि चुनौती बनेको छ । जानुका बहिनी र ड्राइभर असल तमाङभाइ पनि कुशलै भएको समाचार पाएको छु । यस विषम परिस्थितिमा पहिलो सुरक्षित हुने काम दोस्रो अरू काम भन्नेमा सबै सजक नै छौँ । यो अवधिको हाम्रो कार्यालयको अवस्था के हो मैले बुझेको छैन । हाजिरी रजिस्टरमा कोरना भाइरसको कारणले लकडाउन बिदा भनेर लेखिने हो कि ? हामीले विदालिन पर्ने हो ? एक वर्षमा ३० दिन पाइने घर बिदा दिल्लीमा उपचार गर्न बसेको वर्ष बाहेक कहिले पनि उपयोग भएको छैन । म त व्यक्तिगत रूपमा त्यसको उपयोग गर्न पाए खुसी नै हुने थिएँ ।

भरखरै मलाई जिमीको म्यासेज आयो उनले अङ्ग्रेजीमा लेखेको खबर यस्तो छ ‘मैले सबै काम सकेँ, तीन वटै सामग्री पठाएको छु । तपाइहरूको अवलोकन पछि त्यसमा सुधार गर्न प्रतीक्षारत छु’ । म झस्केँ सात दिन बित्यो गर्छु भनेका सबै काम गिजलेँ तर छिचलेको कुनै छैन । एघार एघार  दिन कोठामै कसरी बित्छ होला भनेको थाहै नपाइ बितेछ । अनुभवले अबका चार दिन त सहजै बित्ला जस्तो अनुभूति भएको छ । गिजलेका काम छिचलिने हुन कि होइनन् शंकै छ ।

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विकास सहायता समन्वय शाखाका प्रमुख हुन्

प्रतिक्रिया दिनुहोस