वासिङ्टन । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ ।
आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले चार वर्षको मलायन बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ।
बाघमा चिडियाखानामा काम गर्ने व्यक्तिबाट संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। ‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भाइरस संक्रमणका कारण आहार घटेको भएपनि बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ।
चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ।
न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन्। मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने अधिकारीहरुले बताएका छन्।