६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालय आउजाउ गर्न दुई दिन हिँड्नुपर्ने बाध्यता

अ+ अ-

सुदूरपश्चिम । कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ ।

सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । मोहन्याल गाउँपालिका–३ को कार्यालय फल्ले बिसौनामा छ । त्यहाँ पुग्न ताम्जा, बारजेना, रागामलेखा र सावावासीलाई गाउँबाट दुई दिन पैदल हिडेर जानुपर्छ।

‘भौगोलिक विकटताका कारण सडकलगायत विकासका पूर्वाधार निर्माण हुन नसक्दा वडावासीलाई यस्तो बाध्यता आइपरेको हो’, रामलेखा गाउँका रामबहादुर रावलले भने, ‘वडाको फल्ले बिसौनामा रहेको वडा कार्यालयसम्म पुगेर सेवा लिन गाउँवासीलाई दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ।’

‘गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि कर्णाली नदी पार गरेर सुर्खेतको बिजौरा बजारमाथि निर्भर हुनुपर्ने अर्को बाध्यता पनि छ’, उनले भने, ‘डुङ्गामा जोखिम मोलेर कर्णाली नदी पार गरेर पुगिने बिजौरा गाउँबाट दैनिक उपभोग्य समान ल्याएर जीविका चलाउनुपर्ने बाध्यता छ।’

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली जिल्लालाई प्रदेशका अन्य जिल्लाको तुलनामा सुगम जिल्ला मानिन्छ तर जिल्लाको मोहन्याल गाउँपालिकाको भौगोलिक विकटताका कारण पुग्न नसकेको विकासका पूर्वाधारले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ। चुरे पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिकामा सात वडा रहेका छन्।

गाउँपालिकाका कतिपय वडामा कच्ची सडक पुगेको तर वर्षा लागेसँगै भत्किने गरेका सडक समयमै मर्मतसम्भार नहुँदा आवागमन बन्द हुने गरेको छ। वडा नं ४ का अध्यक्ष टेकेन्द्र बोगटीले स्तरीय बाटो नहुनु गाउँपालिकाको मुख्य समस्या रहेको बताए।

उनले भने, ‘अधिकांश वडामा बिजुलीबत्ती छैन, शिक्षा र स्वास्थ्यका पूर्वाधारसमेत पर्याप्त नहुँदा सहज ढङ्गले सेवा पाउन समस्या हुने गरेको छ।’

वडा नं ४ का बासिन्दा यज्ञबहादुर कठायतले गाउँवासी स्वास्थ्य चौकीको सहज पहुँचबाट पनि टाढा रहेको बताए। स्वास्थ्य चौकी पनि गाउँ नजिक नहुँदा बिरामी हुने मान्छेले सहजरुपमा समयमै उपचार पाउन नसकिरहेको उनले बताए। उनले भने, ‘सिकिस्त अवस्थाको बिरामीलाई धनगढीसम्म पुर्‍याउनु पर्दा बाटोमै दुई दिन लाग्छ, समयमै पुर्‍याउन नसकिएको अवस्थामा कतिपयको बाटैमा ज्यान जाने गरेको छ।’

जिल्लाको उत्तरतर्फको चुरेपहाडी क्षेत्रमा पर्ने साविकका पण्डौन, खैराला र मोहन्याल गाउँपालिकालाई समेटेर मोहन्याल गाउँपालिका बनाइएको थियो। स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय झण्डै एक वर्षसम्म धनगढीको एक निजी घर भाडामा लिइ सञ्चालन गरिएकामा धनगढीबाट पनि कार्यालय स्थानान्तरण गरेर सुखड बजारमा सञ्चालन गरिएको थियो। पछिल्लो एक वर्षदेखि मोहन्यालकै खिमडी भन्ने ठाउँमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ।

परिवर्तनपछि सरकारी सेवासुविधा गाउँठाउँमै पाइन्छ भनेको सुनिएको भएपनि एक डेढ वर्षसम्म गाउँपालिका कार्यालय र वडा कार्यालय खोज्दैमा समय बितेको दुखेसो स्थानीयवासी प्रेमबहादुर बुढामगरको छ। धनगढीमा भेटिएका बुढामगरले भने, ‘देशमा ठूलै परिवर्तन भएको भनिन्छ तर मोहन्याल स्तरीय सडकले नजोडिँदा त्यहाँका बासिन्दाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्।’

विकटताका कारण, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासुविधा पुग्न नसकेका कारण गाउँपालिकाको कार्यालय समयमै आफ्नै क्षेत्रमा सञ्चालन गर्नमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताए।

‘गाउँपालिका भौगोलिक विकटता, अभाव, गरिबीले अक्रान्त छ, समयमै कार्यालयमा कर्मचारीको अभाव हुँदा पनि विगतमा चाहेजति काम गर्न सकिएन’, उनले भने।

गाउँपालिकाका प्रशासकीय अधिकृत जयानन्द जैसीले चालू वर्षको बजेट नीति कार्यक्रममा कृषि, सिँचाइ र सडक निर्माणलाई प्राथमिकता दिइएको बताए।

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन्। समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ७०० मिटरको उचाइमा रहेको यो गाउँपालिकाको जनसङ्ख्या झण्डै २२ हजार छ।

प्रतिक्रिया दिनुहोस