काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकास्थित कोरोना सङ्क्रमितको घरघरै पुगेर निगरानी गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम आइसोलेसनमा बस्ने सङ्क्रमितहरू बाहिर निस्किँदा सङ्क्रमण थप फैलिएको ठहर गर्दै त्यस्ता सङ्क्रमितहरूको निगरानी गर्ने तयारी गरेको हो। उपत्यकाका टोल टोलमा कोभिड निगरानी समूह गठन गरी सोमार्फत निगरानी गरिन लागिएको मन्त्रालयले जनाएको छ ।
प्रत्येक वडाभित्र टोलका समाजसेवी, स्वास्थ्यकर्मी र अन्य सक्रिय व्यक्तिहरूलाई समावेश कम्तीमा ५० घरलाई समेट्ने गरी एउटा कोभिड निगरानी समूह गठन गरिने छ । उक्त समूहले आफ्ना टोलमा सङ्क्रमित छ वा छैन भनेर अनुगमन राख्नुकासाथै सङ्क्रमित व्यक्ति आइसोलेसनमा बसेको या घुमेर हिँडेको छ भन्नेसमेत निगरानी गर्नेछ ।
समूहले आइसोलेसनमा बसेको सङ्क्रमितको स्वास्थ्यमा कुनै गम्भीर समस्या देखिए अस्पताल लैजाने काम पनि गर्ने जनाईएको छ ।