काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने भएको हो ।
पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरूलाई पठाएका छन् ।
उच्च स्रोतका अनुसार महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न नसकिने जानकारी दिएका छन् ।
गत मंसिर १३ को सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो । पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक धुम्बाराहीमै बस्ने बताएका थिए ।
आज बस्ने बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका डकुमेन्ट माथि छलफल हुने छ ।