काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन्। संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,’ विज्ञप्तिमा भनिएको छ,’संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’
सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए।