काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेस समृद्धि कार्यक्रमले कार्यक्रम लागू भएका २२ जिल्लाका दुई सय ७७ स्थानीय तहहरूलाई आयोजना प्रस्ताव आह्वान गरेको छ ।
तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन निर्देशिका २०७७ अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि निर्देशिकामा तोकिएको सर्त र मापदण्डभित्र रही निर्देशिकाको दफा ५ मा उल्लेखित लागत सहभागिता व्यहोर्ने गरी आयोजना/कार्यक्रम सञ्चालन गर्न इच्छुक स्थानीय तहलाई कार्यक्रम प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
निर्देशिकाको दफा ७ मा तोकिएका कार्यक्रम सञ्चालनका क्षेत्रहरूमा सामूहिक आवास भवन, साना सडक स्तरोन्नती, सामुदायिक पूर्वाधार, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिचाई तथा नदी नियन्त्रण, ऊर्जा, विपद् न्यूनीकरण पूर्वाधार, पारस्परिक पेसा प्रवर्द्धनात्मक एवं आय आर्जन तथा जीवनस्तर सुधार रहेका छन् ।
निर्देशिकाको दफा ७(झ) मा तोकिएका विवरण र सर्त अनुसार निर्देशिकाको अनुसूची-२ मा उल्लेख भएका वर्ग र समुदायसँग प्रत्यक्ष सरोकार राख्ने तथा ती समुदाय लाभान्वित हुने प्रकृतिका कार्यक्रमहरू हुनुपर्नेछ ।
निर्देशिकाको अनुसूची ३ मा उल्लेखित आयोजना कार्यक्रम माग फारम सहितको आयोजना/कार्यक्रम प्रस्ताव २०७७ माघ १ गतेदेखि माघ ३० गतेभित्र तराई मधेस समृद्धि केन्द्रीय समन्वय इकाईको वेभ साइटमा रहेको रिपोर्टिङ सफ्टवेयरमा प्रविष्ट गर्नका लागि मन्त्रालय अन्तर्गत कार्यक्रम समन्वय इकाईले अनुरोध गरेको छ ।