७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफल जीवनका लागि स्वसंवाद कला

अ+ अ-

जीवन विज्ञान गुरुका अनुसार सुखी जीवनका तल उल्लेखित ५ आधारहरू छन् जसमध्ये कुनै एक खण्डित भयो भने पनि पूर्णता मिल्दैन :
१. स्वास्थ्य : जे खाँदा र जे गर्दा स्वास्थ्य राम्रो हुन्छ त्यही गर्नुपर्दछ ।
२. पारिवारिक मेल : प्रेमपूर्ण, सम्मानपूर्ण, सहयोगपूर्ण रहनुका साथै एक अर्काको भावलाई बुझ्नु र भावनाको कदर गर्नुपर्दछ ।
३. धन : आफ्नै परिश्रमले नभै नहुने चिजका लागि धनको जोहो गर्नुपर्दछ ।
४. विद्या : कमसेकम एउटा विषयमा विशिष्टता आवश्यक पर्दछ । सिक्ने क्रम भने निरन्तर राख्नुपर्दछ ।
५. ध्यान : ध्यानकलाको विकास गर्ने र कमसेकम दैनिक केहीवेर ध्यानमा रहन सकेमा छुट्टै ऊर्जा र उमङ्ग प्राप्त हुन्छ ।

अस्तित्वमा रहेका चिजवस्तुहरुको प्रकृतिलाई नियाल्दा जे जति सूक्ष्म र देख्न गाह्रो पर्‍यो त्यति नै त्यसमा शक्ति निहित हुन्छ । हाम्रो शरीरभन्दा मन, मन भन्दा भावना, भावना भन्दा आत्मा सूक्ष्म हो । भनिन्छ हाम्रो मृत्यु हुँदा सबभन्दा पछि त्यही आत्मा शरीर छाडेर जान्छ । कोभिड १९ को कारकको रूपमा रहेको भाइरस आँखाले नदेखिने सूक्ष्म छ तर संसारभरि नै यसले ठुलो तरङ्ग ल्याइदियो । अहिले हतियार वा जग्गा जमिनले भन्दा सूचना तथा सञ्चार प्रविधिका कारण कुनै राष्ट्र शक्तिशाली हुन्छ । यी कुरा गरिरहँदा हामीलाई हरदम सक्रिय राख्ने भित्री ऊर्जाको केन्द्रविन्दुको रूपमा रहेको आत्मालाई परिचालित गर्ने अभ्यास गर्न जरुरी छ ।

२०७७ पुस १३ देखि २१ सम्म गरी ९ दिनसम्म सञ्चालन भएको “स्वसंवाद” नामक जुम कोर्सबाट मैले सिकेका जीवनविज्ञानको ज्ञान र सीपलाई यहाँहरूसमक्ष बाँड्ने कोसिस गरेको छु । योगाभ्यास, प्राणायाम र ध्यानको चर्चा र अभ्यास समेटिएको यो कोर्स जीवनविज्ञान प्रतिष्ठानले सञ्चालन गरेको थियो भने मुख्य स्रोत व्यक्तिको रूपमा योग गुरुद्वय एल पि भानु शर्मा र रमेश नेपाल हुनुहुन्थ्यो । स्वसंवाद कार्यक्रमको प्रारम्भ र अन्त्यमा अभिवादनकोरुपमा “हरि ओम” शब्दको प्रयोग हुन्थ्यो जसको अर्थ दुःख निवारणको तत्त्व भन्ने हुन्छ।

सवैसँग एउटा जीवन छ । सो जीवन यस जडिमा छ । वास्तवमा जीवन भनेको अरू केही नभै केही न केही प्रगति गरूँ भन्ने भावना हो । अगाडि बढ्न चाहनु नै जीवनको लक्षण हो । हरेक व्यक्ति शिक्षा, अनुभव, परिचय, परिवार, धन, विकाशवान् हुन चाहन्छ । विकास जब रोकिन्छ तब दुःख सिर्जना हुन्छ ।

भन्न जे भने पनि र जसरी व्यक्त गरे पनि हामीले खोजेको भनेको आनन्द हो । सुख, शान्ति र समृद्धिको समष्टि नै वास्तवमा आनन्दको स्रोत हो । यी तीन मध्ये सुख मानसिक हो, शान्ति आत्मिक विषय हो भने समृद्धि भनेको भौतिक पक्ष हो । ऋद्धि सिद्धिको प्राप्ति हो आनन्द । भित्रको शान्ति र बाहिरको समृद्धिको समष्टि नै ऋद्धि सिद्धि हो । हुन पनि गणेश भनेको शास्त्रमा देखाइए जस्तो कसैको पुत्र नभएर हामी आफै हौँ । हामी हाम्रो जीवनमा आफ्नो लक्ष्य पहिचान गरी शान्ति र समृद्धिलाई जोड्ने कोसिस गर्नुपर्दछ ।

विष्णु पुराणको एउटा बिम्बजन्य कथा धेरै नै चर्चामा आउने गर्दछ । देवता र दानव दुवै भएर समुद्र मन्थन गरेको विषय र यसबाट निस्केको विष देवताले पान गरेको विषय । समुद्र मन्थनका बखत प्रयोग हुने डोरी भनेको चिन्तनको प्रक्रिया जस्तै हो मदानी भनेको लक्ष्य हो भने चिन्तनको प्रक्रियालाई स्वसंवाद भन्न सकिन्छ । कथामा मन्थनको फलस्वरूप ऐरावत हात्ती, लक्ष्मी, अमृत निस्केको प्रसङ्ग छ । अमृतको सट्टा हलाहल विष समेत निस्कन सक्छ । जीवनमा केही असल कार्य गर्न सक्छु भन्ने विषय अमृत हो भने अर्कोतर्फ सक्दिन भन्नु चाहिँ नकारात्मक सोच अर्थात् हलाहल विषको प्रतीक हो ।

ठेकी- शरिर,  नेति/मदानी – लक्ष्य,  सागर- चिन्तन/मन्थन,  भाव वा मानसिक शक्ति- कमल

आफूलाई अमृतप्राप्तको मार्गमा लगाउनका लागि हामीहरूले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्न जरुरी हुन्छ । त्यस्ता लक्ष्य सुरुमा ५ देखि ७ वटाको सूचि बनाएर क्रमशः सोभन्दा पनि साँगुरो बनाएर तीन वटामा पनि सीमित गर्न सकिन्छ । तर ती लक्ष्यहरू हासिल हुँदा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्तिमा सहयोगी हुनुपर्‍यो अर्थात् आनन्द प्राप्त पनि हुनुपर्‍यो ।

अर्को एउटा धार्मिक प्रसङ्ग छ कि भगवान् विष्णु भनेका चतुर्भुज नारायण हुन् । विष्णुका चार हातमा शङ्ख, चक्र, गधा र पद्म हुन्छन् । यी चार वटा लक्ष्यका लाक्षणिक आयामहरू हुन् । शङ्ख भनेको लक्ष्यको घोषणा हो, चक्र भनेको समय निर्धारण हो, गधा भनेको अन्तर्निहित शक्ति कसरी प्रयोग गर्ने, के कस्तो स्रोत प्रयोग गर्ने र नवप्रवर्तनको प्रयोगको विषय यसमा पर्दछ । पद्म भनेको कमल हो हृदयको भावना हो जसले गलत र सही छुट्याउने कला हामीलाई प्राप्त हुन्छ । लक्ष्य तय गर्ने क्रममा मेरो चाहना के हो ? स्वभाव के हो ? अहिले के चाहन्छु ? के सक्छु के सक्दिन ? यी प्रश्नहरू सहयोगी हुन सक्छन् । हामीले तीन वटा लक्ष्य पहिचान गर्‍यो भने ती लक्ष्य प्राप्तिका लागि कमसेकम प्रतिलक्ष्य २१ वटा उपायहरूको सूचि समेत बनाउनुपर्दछ ।

लक्ष्यलाई आफ्नो मनको गहिराइमा राख्नुपर्दछ ताकि लक्ष्यको आवाज भित्रबाटै आवस् । यसरी हामीले लक्ष्य पत्ता लगायौँ भने धैर्यता सिर्जना हुन्छ । लक्ष्यप्राप्तमा लाग्नेले अरूलाई खोट लगाउने अनि आफ्नो प्राप्तिका लागि बहाना बनाउने छुट हुँदैन । जीवन जिउने अन्तिम दिन र क्षणसम्म पनि व्यक्तिका लक्ष्य हुन्छन् नै । मानौँ कि अव कुनै काम प्राप्ति वा धनप्राप्तको समय व्यतीत भइसक्यो भने पनि अव जति बाँच्छु स्वस्थ भएर बाँच्न सकूँ, सत्यको बोध होस्, हरिनामको याद गर्न सकूँ, मानव सेवामा समर्पित हुन सकूँ आदि जस्ता सर्वव्यापी लक्ष्य राख्न सकिन्छ ।

लक्ष्य तय गर्ने र लक्ष्य पूरा गर्ने शक्ति केन्द्रहरूलाई सक्रिय राख्ने विषय सँगसँगै जानुपर्दछ । मूलतः त्यस्ता शक्ति केन्द्रहरू देहायबमोजिम चार वटा रहेका छन् :
– शारीरिक शक्ति जागृत गर्ने तरिका अर्थात् योग
– मानसिक शक्ति जागृत गर्ने तरिका अर्थात् सङ्कल्प
– भावनात्मक शक्ति अर्थात् भाव
– ध्यान शक्ति अर्थात् चेतन

भनिन्छ कि मनोबल वा सङ्कल्प राम्रो भयो भने काल (समय) पनि टाढा भाग्छ । मनोबल बनाउने तरिका बोलेको कुरा पूरा गर्नु हो । भाव शक्ति र ध्यान शक्तिलाई जगाउनका लागि पर संवादमा सीमित नरही स्वसंवादलाई बढाउन जरुरी छ । गुरुहरूका अनुसार ध्यान नै यस्तो उपयोगी मल हो जुन विरुवामा लगायो त्यसलाई सपार्छ । स्वसंवाद गर्ने उपयुक्त क्षण पनि ध्यान नै हो ।

हाम्रो शरीरमा नाभिदेखि तल, नाभिको वरपर र नाभिदेखि माथि गरी तीन खण्डमा रहेका चक्रहरूलाई सक्रिय राख्नका लागि पनि योगाभ्यास आवश्यक छ । यी चक्रहरूलाई सक्रिय राख्नका लागि त्रिशक्ति क्रिया सहयोगी हुन्छ किनकि यस क्रियाले शान्त मन र हलुका शरीर गराउन सहयोगी हुन्छ ।

मनलाई एकाग्र गरी ध्यान जागृत गर्नका लागि तीन विषय उपयोगी छन् । ती हुन् : शरीरलाई तताउने, कम्मर खुम्च्याउने फुकाउने र प्राणायामसँग जोड्ने र मनभित्रको चिन्तनमा भूत र भविष्यलाई खिचेर वर्तमानमा आनन्द लिने । ध्यान जागृत गरिरहँदा लक्ष्यको बोधलाई भने कायम गर्नु जरुरी हुन्छ । मूलतः ध्यान जहिले पनि लक्ष्यमा लगाउनुपर्दछ । लक्ष्यविनाको जीवनको अर्थ हुँदैन । म जे गर्छु होसपूर्वक गर्छु, यहाँसम्मकी मर्दा पनि होसपूर्वक ।

जीवन व्यवस्थापनलाई सफल तुल्याउन नेतृत्व व्यवस्थापन कला पनि सिक्नु जरुरी छ । नेतृत्व व्यवस्थापनका लागि आफूभित्रको नेतृत्व क्षमता कसरी उजागर गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन आउँछ । नेतृत्व क्षमता जागृत गराइयो भने लक्ष्य जतिसुकै ठुलो र गाह्रो भए पनि सक्छु भन्ने लाग्दछ । जुरुक्क उठेर काममा लाग्न सकिन्छ । पसिना बगोस्, बोसो पग्लियोस् । आफूभित्रको म जगाइयो भने उमेर जुनसुकै होस् नेतृत्व क्षमता बढाउन सकिन्छ । मन बलवान भयो भने शरीर जे जस्तो भए पनि अनुकरणीय काम सम्भव हुन्छ भन्ने प्रमाण त झमककुमारी घिमिरे नै छन् ।

नेतृत्वको कुरा गर्दा राजनीतिक नेतृत्व मात्र हो कि भन्ने भ्रम रहेको छ जुन सत्य होइन । त्यसै गरी कुनै संस्था वा निकायको प्रमुख मात्र पनि नेतृत्व तह हैन । विभिन्न क्षेत्र र तहको नेतृत्व हुन सक्छ । जस्तो कि व्यक्तिगत नेतृत्व, पारिवारिक नेतृत्व, सामुदायिक नेतृत्व अर्थात् छिमेकी नेतृत्व, आध्यात्मिक नेतृत्व । यी सबै नेतृत्वको आआफ्नै विशेषता र महत्त्व हुँदाहुँदै पनि आध्यात्मिक नेतृत्वलाई प्रेरणादायी एवं कीर्तिमानी, अजर, अमर रहने मान्यता रहेको छ । आध्यात्मिक नेतृत्वको सङ्गतबाट अन्य सबै किसिमका नेतृत्वले फाइदा उठाएको पनि हामी पाउँछौँ ।

असल नेतृत्व क्षमता हुँदा सम्भव हुने कामहरूको चर्चा गर्दा लक्ष्य भेदन गर्नु, अरूको आलोचनाको बाबजुद काम गर्दै जानु, अरूको सेवामा मन लगाउनु मानवीयता जागृत गर्नु, कसैको जीवनको कठिनाइ बुझेर निश्वार्थरुपमा मद्दत गर्नु, खाँचो परेका बखत साथीभाइसमक्ष उपलब्ध हुनु, मीठो बोल्नु, शालीन व्यवहार गर्नु, दिनरात एक बनाएर मेहनत गर्नु र लक्ष्य हासिल गर्नु र साथीभाइ आफन्त तथा सरोकारवालासँग राम्रो सम्बन्ध बनाउनुजस्ता कौशल आवश्यक पर्दछन् ।

नेतृत्व क्षमताका २ वटा पाटाहरू छन् । व्यक्ति नेता र सामूहिक नेता दुवै सम्भव छ । यी दुवै आवश्यक छन् । एउटा विषय के बुझ्नु आवश्यक छ भने अरूलाई साथमा लिएर हिँड्न नसक्ने पुस्ता अव सफल हुँदैन । कुनै पनि मञ्चमा सामूहिक नेतृत्व अपरिहार्य छ । सामूहिक क्षमता जगाउने कसरी ? पहिलो कुरा त अरूलाई समेट्ने र अरूको काम एवं क्षमतालाई सम्मान गर्ने कला आवश्यक छ ।

आफूबाहेक अरू कोही जान्ने छैन । I know it all (IKIA) को दृष्टिकोण राख्नु भनेको वैमनस्य कमाउने बाटो
हो । सफल नेता बन्नका लागि सम्बन्धलाई एकदम ध्यान पुर्‍याउनु जरुरी छ । अहिलेको समयमा पुँजीभन्दा पनि ठुलो भनेको सम्बन्ध Relationship हो । भक्ति र ध्यानका लागि समेत यो आवश्यक छ ।

सम्बन्ध निर्माणका मुख्य दुई सूत्रहरू यस प्रकार रहेका छन् :
१. जो प्रति अहोभाव/अनुग्रह छ उसँगमात्र सम्बन्ध राम्रो हुन्छ, गुनासो वा वैमनस्य छ भने हुँदैन ।
२. सम्बन्ध दिगो हुनका लागि सम्बन्ध भनेको लिनु नभै दिनुमा आधारित हुनुपर्दछ । यसभित्र Sense of gratitude and art of giving समेटिएको हुन्छ । यसलाई विकसित गर्नका लागि हरेक दिन कमसेकम ३ जनालाई अनुग्रह व्यक्त गरी कमसेकम २१ दिन अनुग्रह डायरी राख्नु राम्रो हुन्छ ।

आलस्य भनेको रोगको कारण मात्र हैन रोग नै हो । मनोवैज्ञानिक बेरोजगारी पनि यसमा पर्दछ । एउटै मानिस अवगुण सम्मिलित हुँदा दानव र उही मानिस गुण बोकी हिँड्दा भगवान् बन्दछ । कस्ता गुण हुँदा राम्रो नेतृत्व बन्छ ? यस सम्बन्धमा निर्मल स्वभाव/प्रेमिल स्वभाव/दयालु र आनन्ददायक, सफलता प्रदायक, सहयोगी भाव आवश्यक पर्दछ । नेतृत्व लिन अनिवार्य गुणहरूको रूपमा हे सन्तोषी मन, क्रियाशील तन, हे शुद्ध चित्त, हे प्रसन्न चित्त हे अटल विश्वास, भुलाई प्रभु बनाएको गुणले हो । जीवनमा सधैँ सङ्घर्ष गर्ने हैन हाँसाहाँसी गर्ने हो ।

दुःख व्यवस्थापन कलाको बारेमा प्रसङ्ग सुरु गर्दा एउटा कथाको प्रसङ्गबाट सुरु गरौँ । सुरुमा रामप्रसादको तलव रु १००० मात्र थियो । उसले तलव आयो कि सबै पैसा गृहिणीलाई राख्न दिन्थे र अफिस जानआउन र घरको आवश्यकताअनुसार सपिङ गर्नका लागि थोरै पैसा मात्र ती गृहिणीले रामप्रसादलाई दिने गर्थिन । एकदिन ती रामप्रसादले घरमा पुगेर मैले रु ५ लाखको लटरी जिते भनेर सुनाए । गृहिणीले प्रश्न गरिन : त्यो लटरीको टिकट काट्ने पैसा कसले दियो ? रामप्रसादको कमाइको स्रोतसँग यो प्रश्न उठाइएको थियो ।

हो दुःख हाम्रो जीवनको कथा भएको छ । जतिसुकै राम्रो बनेको भए पनि “त्यो त हो तर ” ले छेकिदिन्छ । लाग्छ कि मनुष्यले धनसम्पत्ति हैन दुःख कमाएको छ । मानिस दुःखले थिचिथिचि मरेको छ । हाम्रो संस्कार पनि रिस अन्तै पोख्ने छर्ने खालको छ । “जहानका रिसले छोराछोरी पिट्न्या” भन्ने गीतको बोलजस्तै ।

दुःखी व्यक्तिले अरूलाई सताउँछ जीवनलाई हर प्रकारले ध्वस्त पार्न खोज्छ । दुःखको दुष्चक्रले हामीलाई घेरेको छ । दुःखबाट हाम्रो सम्बन्ध विच्छेद गर्नुपर्दछ । दुःख हाम्रो स्वभाव होइन । हामीहरू भित्रैदेखि तयार हुनुपर्दछ दुखबाट टाढा जानको लागि । पूजा गर्नुअगाडि न्यासध्यान गर्नुपर्दछ भन्ने कुरा त हाम्रो शास्त्रहरूमा भनिएको पनि छ । यदि मनमा चिन्ता र दुःखका पोका बोकेर ध्यान गर्न थालियो भने ध्यान लाग्दैन । दुःखबाट बाहिर निस्कनका लागि प्रयोगमा आउने तीन तरिकाहरू हुन सक्छन् । पहिलो नकारात्मक तरिका, दोस्रो सकारात्मक र तेस्रो चाहिँ हो विषयान्तरण अभिव्यक्ति ।

दुःखलाई कसरी जरैदेखि फाल्ने त ? यसको इलाज आफ्नो मन मै गएर गर्नुपर्दछ । दुःख पर्दा र सुख पर्दा पनि मन हल्लिन्छ । दुवै अवस्थामा मनमा उठेका तरङ्ग ripples उत्पन्न हुन्छन् । हामीले कुनै पनि चिज पाँच ज्ञानेन्द्रियको माध्यमबाट अनुभव गरिन्छ । जुनकुरा यसरी अनुभव हुन्छ ती हामीभन्दा फरक हुन् भनेर बुझ्नुपर्ने हुन्छ । जस्तो कि हात पनि अनुभवमा आउँछ त्यसै गरी टाउको मुटु मन पनि दुखेको अनुभूत हुने हुनाले म भन्दा अलग छ । आत्मा अनुभूतिमा नआउने हुँदा आत्मा स्वयं हो । मनको भाँडो सदा सफा राख्नुपर्दछ । दुःखीलाई मद्दत गर्नुपर्दछ ।

एउटा कथा प्रसङ्ग बुद्ध र भिक्षु आनन्दसँग सम्बन्धित । दुवैजना खोला तरेपछि पारी पुगेर आराम गर्दै थिए । वुद्धले भिक्षु आनन्दलाई अघिको खोलाबाट पानी लेउ भनेर पठाए । तर भिक्षु आनन्द भने खाली हात आएर भनेकी मैले जल ल्याउन सकिन । किन भनेर वुद्धले सोध्दा उनको उत्तर रह्यो कि पानी हिलो धमिलो भएको छ त्यसैले ल्याइन । नदीमा प्रवेश गरेर सङ्लो पानी पाइने कुरा नि भएन । एकछिन धैर्य गरेर सङ्लो भएपछि ल्याउनुपर्ने भनेर वुद्धले भने । यसपटक भने १० मिनेट समय लगाएर सङ्लो जल लिएर आएर भने कि भन्ते तिमीले मेरो जीवनमा रूपान्तरण ल्याइदिनुभयो ।

आफूमा आएको सोच र वातावरणमा देखापरेका विषयहरूको साक्षी हुने कलाका लागि पनि बुद्धको माथिको प्रसङ्ग उपयोगी हुने देखिन्छ । वुद्धले दिनुभएको जीवनमा दुःख व्यवस्थापनका चार उपदेशहरू पनि स्मरणीय छन् : संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण संभव छ, दुःख निवारणका लागि साक्षी हुने तरिकाको अभ्यास आवश्यक छ । आनपान र विपश्यना साक्षी हुने उत्तम तरिका हुन् । मनमा जे आउँछ त्यसलाई थाह पाइराख्नु साक्षी बन्नु हो । साक्षी हुने प्रयास गर्दा आएका विचारहरू अनुभूत पनि गर्नुपर्दछ । मनुष्य जीवनमा साक्षी हुनु नै ठुलो उपहार हो ।

जब दुःख हट्छ तब बाँकी रहने भनेकै ओमकार हो । अहिलेको जमाना भनेको सहकार्य र समूह कार्यको हो । मार्केटिङको पुस्तकहरूमा पनि प्रतिस्पर्धा भन्दा पनि सहकार्यको प्रयोग बढेको छ । दुखसुख राम्रो नराम्रोबाट माथि उठ्ने भनेको मानिसले मात्र हो । यसका लागि बाहिरी र भित्री सम्पदाको नेतृत्व आवश्यक हुन्छ । प्रश्न उठ्न सक्छ कि कस्ता कस्ता गुण भयो भने नेतृत्व लिन सकिन्छ ? वास्तवमा हामीसँग जे छ त्यो भनेकै नोक्शान हुनलाई हो । जस्तै : धन मान अपमान पनि यही जीवनमै भोग्ने हो । प्रकृति धेरै बलवान छ । जस्तो कि वर्षा हटाउन सकिन्न तर छाता ओडेर बस्न सकिन्छ । दुःख रहित अवस्थामा मात्र स्वसंवाद संभव हुन्छ । त्यसैले दुख हटाउने छाताको उचित प्रयोग गर्नुपर्दछ । जीवनमा कि आफ्नो कि अरूको इच्छा पूरा हुन्छ । अर्को अर्थमा भन्नुपर्दा कि मेरो इच्छा कि ईश्वरको इच्छा पूरा हुन्छ । यो रहस्य थाह पाएपछि कुनै व्यक्ति पनि दुखी हुँदैन । जीवन विज्ञानको एउटा गीतको बोल छ कि “समयको प्रवाहमा केही पायो केही छुट्यो जिन्दगीको एउटा दिन आज पनि बित्यो” । यदि सुख भनेको केही नगरी बस्ने र अरूले दिएको खाने हो भनेर लिएका छौँ भने त्यो गलत हो । बच्चाले पढ्न नपर्दा जे जस्तो सुख अनुभूति गर्दछ त्यस्तो सुख खोज्नु गलत हो ।

स्वसंवादका पञ्चसूत्र
-मन अस्थिर भएको बेला श्वास फुल्ने कुनै क्रिया गरौँ ।
-शरीरको सबै शक्ति हातमा ल्याउने मुठ्ठी कसेर ५० सेकेन्ड राखौँ ।
-“कपालभाती जीवनसाथी” भएको हुँदा कपालभाँती प्राणायाम गरौँ ।
-२१ पटकसम्म लामो सास लिएर लामो गरी फालौँ ।
– श्वास लिएर फाल्दै ओउम आवाज सहित २१ देखि १०८ सम्म भ्रामरी प्राणायाम गरौँ ।

यी पञ्चसूत्रको नियमित प्रयोग गरेको खण्डमा पाचन प्रक्रिया राम्रो हुन्छ मुटुको धड्कन र रक्तचाप ठिक स्थानमा रहन्छ । पञ्चसूत्रको सार के हो भने यदि मन आत्तिएको छ भने श्वास फुल्ने केही क्रिया गर्नुपर्दछ ठिक ठाउँमा आउँछ । समय आफैमा दुःखको औषधी हो । मात्र हिँडिराखेर मात्र गन्तव्यमा पुगिँदैन गन्तव्य र दिशाको बोध पनि चाहिन्छ ।

हामी दुःख मा छौँ भन्नुको तात्पर्य भनेको बितेका घटनाबाट हुने दुःख अर्थात् शोक, भविष्यमा पर्न सक्ने दुःख अर्थात् सुर्ता र बर्तमानमा अनुभूत गरेको दुःख अर्थात् कष्टको समष्टिका रूपमा जीवनको दुःख मानेका छौँ । अव यहाँनेर पञ्चसूत्रको प्रयोग गर्दा ध्यानलाई खिचेर दुःख महसुस भएको स्थानमा लैजाने र ओउम आवाजबाट त्यसको निवारण हिलिङ गर्नुपर्दछ । यसरी शरीरलाई चलायमान गराउँदा ओउमलाई अझ विशिष्ट गराउँदै कम्मरदेखि तल आ….कम्मरदेखि घाँटीसम्म ओ……र घाँटीदेखि माथि म….. उच्चारण गरी भ्रामरी प्राणायाम गर्दा शरीर धेरै हलुका बन्दछ । दुखेको स्थानमा ध्यान लगाई यो प्राणायाम गरेमा मानवीय जीवनको लागि वरदान नै सावित हुने मानिएको छ ।

साक्षीको प्रयोग गर्ने साधना
१ घण्टा जति शरीरलाई स्थिर बनाउने । म आफूप्रति नै वचनबद्ध भएँ भनेर मनलाई भन्ने । भनिएको छ कि ३ घण्टा स्थिर राखेमा स्वयं समाधीमा जान्छ । गज्जबको रहस्य त के रहेछ भने दुःख भनेको आउने जाने हुँदो रहेछ पर्खिन मात्र पर्ने रहेछ । हुन पनि हो दुःखको अनुपस्थितिमा सुख हुन्छ । स्वभावतः सुख स्थायी हो । सुख आकाश र दुःख बादल जस्तै । साक्षीको साधना गर्दा छिनछिनमा शरिर नै छैन जस्तो पनि अनुभूति हुन्छ । मनमा विचारहरू आउने जाने गर्दछन् । साधना गर्दै जाँदा विचारको वीचवीचमा ग्यापको अनुभूति समेत हुन्छ । विचारहरू एकपछि अर्को आउने जाने हुँदा घरीघरी विचारहरू नै खप्टिने हुन्छ यस्तो ओभरल्यापले मनमा अशान्ति पैदा गराउँछ । त्यस्तै विचारहरूका वीचमा ग्याप भयो भने मात्र शान्तिले स्थान पाउँछ । हाम्रो जीवनमा दुःख आउँछन् तर छाता ओढाएर कम गर्ने हो । मनुष्य चोला कर्ममा आधारित हो । शरीरमा ध्यान, मनमा ध्यान र ध्यानमा ध्यान लगाएर १ घण्टा व्यतीत गर्‍यौँ भने हामीले आनन्द प्राप्त गर्दछौँ ।

गुरुहरूको अनुसार हाम्रो जीवन ठिक छैन भने हामीले जाने बुझेको ठिक छैन । म भित्र आनन्द छ भने मात्र म ठिक छु । हरेक लक्ष्यमा आनन्द हालौँ । अमृत मन्थनको कथा पढ्ने हैन अभ्यास गर्ने हो आफै अनि मात्र सुखी बन्न सकिन्छ । हामीसँग साधना र साहस दुवै कम छ तसर्थ काम गर्न गाह्रो छ । केही प्रारम्भ गर्ने र विचैमा छाड्ने गर्नु हाम्रो मूर्खता हो अज्ञानता हो । श्रीमदभागवदमा भनिएको छ कि तिमी जे हेर्छौ ईश्वरको रूपमा हेर । घरपरिवार त्यागे पनि अहङ्कार त्याग्न बाँकी राखेर के अर्थ ? अहङ्कार र अज्ञानता त्याग्न शाहस आवश्यक पर्दछ ।

आनन्दित बन्ने कसरी भन्ने सम्बन्धमा समेत केही सुझावहरू गुरुहरूबाट प्राप्त भएका छन् । भनिएको छ कि म भित्र शोक वा सुर्ता दुवै नभएमात्र आनन्द संभव हुन्छ । वरिपरिका मान्छेमा र परिवारजनमा भगवान् नदेख्नेले ब्रह्माण्डमै केही भेट्दैन । म के कुरामा प्रतिबद्ध हुनुपर्‍यो भने जे गर्दा म आनन्दित हुन्छु त्यही गर्दछु । जे भयो त्यसलाई क्षमादान र भविष्यप्रति आनन्ददान नगरी जीवन सफल बन्दैन । आनन्दित हुने भनेको आफूभित्रको अवस्थालाई जागृत र सन्तुलित राखेर मात्र हो । यत्रतत्रका विषयले हैन स्वयंभित्रको शान्तिले मात्र हामी आनन्दित हुन्छौँ । हुन पनि प्रकृतिमा दश दिशा विद्यमान छन् भने ११औँ दिशा भनेको आफूभित्र रहेको छ जहाँ आनन्दको बास हुन्छ ।

स्वामी विवेकानन्दको जीवन आफैमा सिकाइको मूल मानिन्छ । उनलाई कसैले सोधे कि मैले कसरी आनन्दित हुने ? उनको जवाफ यस्तो रह्यो : अरू कसैलाई ६ घण्टाको लागि खुसी बनाउने भए एकछाक खाना खुवाऊ, २४ घण्टा खुसी राख्ने भए २ छाक खाना र १ रात बास बस्ने प्रबन्ध गर । यदि ६ महिनाको लागी सोच गराउने हो भने एक जोडा लुगा किन्देऊ । जीवनभर नै सफल होस्, आनन्दित होस् भन्ने उद्देश्य हो भने शिक्षा वा सीप देऊ । बुद्धिमान छौ विवेकी छौ भने जन्म जन्म सम्म पनि खुसी पार्ने उपायका रूपमा ध्यान सिकाइदेऊ । क्षमादान महादान हो भने आनन्ददान चाहिँ परमदान हो । आफूभित्रबाट अर्को गौतम बुद्ध वा खप्तडस्वामी जन्मन सक्छ । आफ्नो मात्र हेर्नेलाई दुःख ले छाड्दैन । आनन्द दान गर्ने प्रयास नै आनन्द प्राप्त गर्ने उपाय हो ।

स्वसंवादको लागि मनभित्र आफ्नो कुरा चलिरहन आवश्यक छ चिन्तन आवश्यक छ त्यसका लागि पनि विषय चाहिन्छ त्यही नै हो जीवनको लक्ष्य । हामीहरूले उमेर र रुचिअनुसार फरक फरक लक्ष्य तय गरे तापनि सबैको चाहना भनेको अन्तत्वगत्वा आनन्द प्राप्ति हो । अहङ्कार घटाउन क्षमादान गर्नुपर्दछ । अंधकाररुपी अहङ्कारलाई क्षमारूपी प्रकाशले हटाउनुपर्दछ । मनलाई चलायमान तर निश्चित विषयमा गराउनका लागि लक्ष्य एक माध्यम हो । यदि मन धेरै चञ्चल भयो भने शान्ति प्राप्ति हुँदैन । एउटा भनाइ पनि रहेको छ कि राम्रो सोच आएमा चाँडै कार्यान्वयन गर्नु तर नराम्रो सोच आएमा भने कार्यान्वयनमा ढिलाइ गर्नु । समग्रमा भन्नुपर्दा खुसी हुने वा नहुने भन्ने विषय स्वयंमा भर पर्दछ ।

मागेर धनी र दिएर कङ्गाल भइँदैन । दिने मान्छे कहिल्यै तनावमा जाँदैन । दिने भनेको दौलत वा पैसा मात्र पनि हुँदैन । यस्तो भावना राख्नुपर्दछ कि हामीसँग जोडिने व्यक्ति हामीबाट आनन्दित र प्रभावित होस् ।

अन्त्यमा,
“सुख, शान्ति, समृद्धिको आधार, योगपूर्ण व्यवहार” यस वर्षको राष्ट्रिय योग दिवस (माघसंक्रान्ती) को मुख्य नारा रहेको थियो । शारीरिक अभ्यासका लागि बिहान बेलुका हिँड्ने, जीम जाने अनि भित्रिदेखिनै व्यवस्थित र स्वस्थ रहनका लागि योगाभ्यास गर्ने, ध्यान गर्ने भन्ने विषय हामी धेरैले धेरै माध्यमबाट सुनेका छौँ । तर हाम्रो जीवनको सफलतासँग हाम्रा यी सबै क्रियाकलापका साथमा आफैसँगको संवाद किन आवश्यक छ ? के सुख, शान्ति र समृद्धिका लागि स्वसंवाद जरुरी छ ? आफ्नो जीवनलाई रहरलाग्दो र अर्थपूर्ण बनाउँदै आनन्दित तुल्याउन स्वसंवादलाई कसरी आत्मसाथ र अवलम्बन गर्ने भन्ने सम्बन्धमा यस लेखमा गरिएको चर्चा आफैमा पर्याप्त नहुन पनि सक्छ । समय व्यवस्थापन गरी जीवविज्ञान सम्बन्धी स्वसंवाद र अन्य कोर्ससमेत लिई आफ्नो जीवनमा उतार्नुभएमा जोसुकै व्यक्ति पनि स्वसंवादको माध्यमबाट लाभान्वित हुनेमा कुनै शङ्का छैन ।

प्रतिक्रिया दिनुहोस