काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीको केहि नेताहरुले हौस्याइरहेको बताएका छन् ।
प्रतिनिभिसभा विघटनको विरोधमा कांग्रेसले काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता थापाले ओलीको ‘निरंकुश’ कदममा केही ‘लड्डु कांग्रेसी’ ले साथ दिएको टिप्पणी गरेका छन् ।
नेता थापाले भने, ‘संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायकवादी हुँदैछन् । तर, केही लड्डु कांग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् । थापाले नेतृत्वलाई प्रश्न गरे, ‘तपाईं संविधानको पक्षमा कि विपक्षमा ?’
केही कांग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेको भन्दै उनले बीपी कोइरालाका कार्यकर्ताले त्यसो भन्न नसुहाउने बताए । ‘सर्वोच्चमा उभिएर बीपी कोइरालाले कतैबाट प्रभावित नभए मात्र अदालतको प्राण तटस्थतामा मात्र रहन्छ, दायाँ–बायाँ हेरेर हैन, संविधान हेरेर न्यायको रोहमा बसेर फैसला गरोस् भन्नु भएको थियो,’ उनले भने, ‘त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दैछ भनेर हेर्ने आँट गर्नुपर्छ ।’
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ओली समुहका अध्यक्ष केपी शर्मा आलीको सिफारिसमा गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सडकमा विभिन्न किसीमको प्रदर्शन र संघर्सका कार्यक्रमहरु गर्दै आएको भएपनि आफ्नै पाटी भित्रका केही नेतृत्वहरुले ओली समुहको साथ दिएको नेता थापाले बताए