काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै दाहालले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।
उनले अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै ओली जनताबाट टाढिएको दाबी गरे । ‘हामी जनताको पक्षमा गयौँ, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गयौँ, संविधानको पक्षमा गयौँ । सडकमा हामीलाई गर्व छ’, उनले भने,’तर केपी लोकतन्त्र, संघीयता, जनताबाट टाढा गए । संविधानलाई घात गर्ने कुत्सित मनाशायबाट गए त्यसकारण उनले हारे ।’
पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको दाहालको भनाइ थियो । अध्यक्ष दाहालले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी गरे ।
प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको दाहाल-नेपाल समूह दोस्रो चरणको आन्दोलनमा छ । यो समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।