काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापना भयो भने मुलुक अस्थिरता तर्फ धकेलिने बताएका छन् ।
मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा रहेको पनि बताए । प्रधानमन्त्री ओलीले भने ‘कथमंकदाचित पुनः स्थापना भयो भने के हुन्छ भन्दा प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’ ।
प्रधानमन्त्री ओलीले संसद् पुनः स्थापना भए पनि प्रधानमन्त्री आफै हुने सङ्केत गरेका छन् । ‘कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरूको कुनै सम्भावना छ प्रधानमन्त्री हुने रु विल्कुल छैन । एक प्रतिशत पनि छैन ।’ उनले भने
‘यदि उहाँहरूले जित्नुभयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नुहुन्छ, त्यसका लागि पनि मकहाँ आउनुहुन्छ’, नेकपा अहिले एक ढिक्का भएको भन्दै कुनै प्रकारको समस्या नभएको र बाटो बिराउनेलाई फर्कन आग्रह गरे ।
दाहाल(नेपाल समूहले बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको भन्दै ओलीले देशलाई अस्थिरतातिर धकेलिनबाट अदालतले रोक्ने विश्वास व्यक्त गरेका छन् ।
संसद् विघटनको बचाउ गर्दै उनले संविधान, संसदीय व्यवस्था र अभ्यासले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउने वातावरण रहेन भने संसद् विघटन गर्न सक्ने बताए ।
उनले सूर्य चिन्ह र आधिकारिक नेकपा आफूले नेतृत्व गरेको पार्टी नै रहेको दाबी गर्दै आगामी वैशाख १७ र २७ गते तोकिएको चुनाव हुने भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।