काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्। अध्यक्षद्वयले सभापतिसँग सँगै मिलेर जाने प्रस्ताव गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘भेटका क्रममा समसामयिक राजनीतिका बारेमा छलफल भयो’ देउवाले भने,‘उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो।’ सभापति देउवाले नेकपाले गरेको प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको उनले बताए। दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन् ।
देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए ।
बूढानीलकण्ठमा उनीहरुका बीचमा झण्डै आधा घण्टा छलफल भएको थियो। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै मंगलबार नै देउवा र दाहालबीच टेलिफोन वार्ता भएको थियो।