काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको खुलासा गरेका छन् ।
मंगलबार सामुदायिक वन उपभोक्ता महासङ्घको आठौँ राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् ।
आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको तर आफूले नभेटेको बताएका छन् । ‘जुन दिन पद बहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारी साराले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन उनले भने, हामी १ अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालो मोसो दल्न हुँदैन भनेर इन्कार गरेँ ।’
वैज्ञानिक वन कार्यक्रमका नाममा वन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको पनि उनको दाबी छ ।
आफू प्रतिनिधिसभाको लेखा समितिमा रहँदा उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमबारे अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारीलगायतले प्रलोभन देखाएको उनले बताए ।
११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।