काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकनको निवेदन दिएका प्रचण्डले फैसला सच्चिने आफूले आशा गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो। पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन। यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्, मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’
मंगलबार बिहान ११ बजे प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्द्धन शर्मा सर्वोच्च अदालत पुगेका थिए।
फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएका थिए।