दमौली । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज (सोमबार) दुईको मृत्यु भएको छ ।
तनहुँ र कास्कीका एक/एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मोटरसाइकलबाट खसेर मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।