सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार (आज) बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरू पनि खोल्न पाइनेछ ।
यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटेल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् ।