काठमाडौँ । निवर्तमान स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले आफ्नो १९ दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
मङ्गलवार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गठन गरेको मन्त्रिपरिषद् विघटन गरिदिएपछि पदमुक्त भएका मन्त्री तामाङले आफूले १९ दिनमा गरेका कामको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
१९ दिन स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका तामाङले कोरोनामाहामारी नियन्त्रणमा मुख्य भूमिका निर्वाह गरेको बताएका छन् ।
यस्तै, कोरोना भाइरसविरुद्धका खोप ल्याउन सबै प्रक्रिया पुरा भएको जानकारी दिँदै केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताए ।
उनले राजनीतिक घटनाक्रमले खोप आउन ढिला हुने र नेपाली नागरिकको जीवन तलमाथि भएका त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने बताउँदै राजनीतिक खेलमा नेपाली नागरिकको जीवनमाथि खेलवाड गर्ने जिम्मेवारी कसैको नभएकोसमेत बताए ।
उनले आफू स्वास्थ्यमन्त्री भएपछि नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी पनि छलफल भई प्रक्रिया सुरु गरिएको समेत जानकारी दिए ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन भएपछिको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेसँगै उनीपनि पदमुक्त भएका हुन् ।
यस्तो छ तामाङले सार्वजनिक गरेको उपलब्धी
१.कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न। खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको। (यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)२. सबै नेपाली जनताको स्वास्थ्य उपचार नि:शुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रियाको सुरुवात।
३. सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको।