काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् ।
बाइडेनको उक्त निर्णयले उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूको मागलाई अस्वीकार गरेको छ ।
जी–७ मुलुकका नेताहरूले उद्धारको समय सीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै समयसीमा भित्रै उद्धार कार्य सम्पन्न हुने आफ्नो विश्वास दोहोर्याएको बिबिसीले जनाएको छ ।
‘जति छिटो सम्पन्न हुन्छ त्यति राम्रो,’ उनले भने । समय सीमा लम्ब्याउँदा अमेरिकी फौज र नागरिकहरूलाई जोखिम हुन सक्ने उनको भनाइ छ ।
आईएसआईएस–केले अमेरिकी फौज, गठबन्धन बल र निर्दोष नागरिकहरूलाई आक्रमणको लक्ष्य बनाउन खोजिरहेका उनले बताए । अमेरिकी सञ्चारमाध्यमका अनुसार केही सैनिक फर्किइसकेका छन् । यद्यपि, उद्धार कार्य भने प्रभावित भएको छैन ।
अगस्ट १५ मा तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ । तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न भने नसकिने बताउँदै आएका छन् ।