विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले शुक्रबार नेता माधवकुमार नेपालको साथ छाडेका आफू निकटका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।
उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका हुन्।