काठमाडौँ । म्यानमारका सेना प्रमुखले दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन(आसियान)को बैठकमा सहभागी हुन नपाउने भएका छन्।
म्यानमारका सैनिक जनरल मीन ओङ ह्लाइङकोलाई यसै महिनाको अन्त्यमा हुने आसियानको शिखर सम्मेलनमा सहभागी नगराउने निर्णय भएको हो।
आसियानमा आबद्ध देशका विदेश मन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न नदिने निर्णय भएको हो।
गएको फेब्रुअरीमा सैन्यवलको आधारमा सत्ता हत्याएका जनरल मीन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति भएको बिबिसीले जनाएको छ।
गएको अगस्टमा सेना प्रमुख ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका अन्य देशका सरकार प्रमुखसमेत सहभागी हुने सम्मेलनमा म्यानमारका सैनिक जनरललाई सहभागी नगराइनु अन्तर्राष्ट्रिय मान्यताको अपेक्षा गरिरहेको सैन्य सरकारका लागि ठुलो धक्का ठानिएको छ ।
म्यानमारमा सेनाले सत्ता हत्याएपछि भएको दमनको क्रममा १ हजार भन्दा बढी नागरिकको हत्या भएको छ भने नेतृ आङसाङ सुकीसहित ६ हजार भन्दा बढीलाई थुनामा राखिएको छ।